काठमाडौँ-
प्रतिनिधिसभाको शक्ति सन्तुलन आजबाट औपचारिक रूपमा स्पष्ट हुने भएको छ। निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई आज बिहान ११ बजे प्रमाणपत्र वितरण गर्दैछ ,जसले नयाँ सरकार गठनको प्रक्रियालाई तीव्र बनाउने संकेत दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार, आयोग परिसरमै आयोजना हुने कार्यक्रममा ११० जना समानुपातिक सांसदलाई औपचारिक मान्यता प्रदान गरिनेछ।
यसपटकको परिणामले देशको राजनीतिक नक्सा नै उल्टाएको छ। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७ सिट कब्जा गर्दै सबैभन्दा ठूलो शक्ति बनेको छ भने नेपाली कांग्रेस २० सिटमा सीमित भएको छ। नेकपा एमाले ले १६, नेपाल कम्युनिस्ट पार्टी ले ९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी ले ४–४ सिट प्राप्त गरेका छन्।
प्रमाण-पत्र वितरणसँगै आजकै दिन राजनीतिक प्रक्रियाले अर्को निर्णायक मोड लिनेछ। आयोगले दिउँसो ४ बजे रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभा निर्वाचनसम्बन्धी पूर्ण प्रतिवेदन पेश गर्ने तयारी गरेको छ। शीतलनिवासमा हुने यो भेटले नयाँ सरकार गठनको बाटो औपचारिक रूपमा खोल्नेछ।
त्यसपछि आयोगले साँझ साढे ५ बजे पत्रकार सम्मेलन गर्दै निर्वाचनको सम्पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ,जहाँ आगामी सत्ता समीकरणका संकेतहरू अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको अवस्थामा आजको दिनलाई नेपालको राजनीतिक भविष्य निर्धारण गर्ने ‘टर्निङ प्वाइन्ट’ का रूपमा हेरिएको छ।













