२०८२ चैत्र ५ गते, बिहीबार १०:०४

श्रीमतिको हत्यापछि श्रीमानद्वारा आत्महत्याको प्रयास

काठमाडौँ –

कैलालीमा एउटा दर्दनाक घटना सार्वजनिक भएको छ, जहाँ पारिवारिक विवाद हिंसामा परिणत हुँदै श्रीमानले श्रीमतीको ज्यान लिएका छन् र त्यसपछि आफूमाथि नै गोली चलाएका छन्।

जिल्लाको गोदावरी नगरपालिका-४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला आफ्नी २८ वर्षीया श्रीमती संजिता मगरमाथि गोली प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरायसी विवादका क्रममा भएको भनिएको उक्त घटनामा प्रयोग गरिएको हतियार भरुवा बन्दुक हो।

घटनापछि अवस्था झनै भयावह बन्यो,श्रीमतीको हत्या गरेलगत्तै रामबहादुर मगरले सोही बन्दुक प्रयोग गरी आफूमाथि पनि गोली प्रहार गरेका थिए। उनी गम्भीर घाइते अवस्थामा हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले प्रारम्भिक अनुसन्धानका आधारमा घटना पुष्टि भए पनि थप विवरण संकलन भइरहेको जानकारी दिए। उनका अनुसार घटनास्थलमै संजिताको शव फेला परेको छ र माइती पक्षको उपस्थितिपछि मात्र शव उठाइनेछ।

प्रहरीका अनुसार घाइते पुरुष अझै होसमा नआएकाले घटनाको सम्पूर्ण कारण र पृष्ठभूमिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। यस घटनाले स्थानीय क्षेत्रमा शोक र त्रास फैलाएको छ।

पोडकास्ट सुन्नुहोस