२०८२ चैत्र ५ गते, बिहीबार ०९:५८

कांग्रेस बैठकमा गगन थापाको राजीनामाबारे बहस चर्किने, अस्वीकृत गर्ने प्रस्ताव अघि बढाइँदै

काठमाडौं –

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता गगन थापाले दिएको राजीनामाको विषय प्रमुख एजेन्डा बन्ने भएको छ । शुक्रबार(आज) बस्ने बैठकमा थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव औपचारिक रूपमा पेस गरिने तयारी गरिएको छ।

हालै सम्पन्न निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका थिए । पार्टीभित्र यस विषयले तीव्र बहस सिर्जना गरिरहेको छ।

सूत्रका अनुसार, गगन थापा स्वयं बैठकमा सहभागी नहुने सम्भावना छ। त्यसैले बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन्। शर्माले नै थापाको राजीनामाबारे औपचारिक जानकारी गराउँदै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्।

बैठकमा शर्माले निर्वाचनमा पराजयको कारण एकल व्यक्तिमा मात्र नपर्ने र विशेष महाधिवेशनबाट बनेको नेतृत्वले छोटो तयारीमा चुनावमा होमिनु परेको जस्ता पक्षहरू प्रस्तुत गर्नेछन्। साथै, विभिन्न जिल्लाबाट प्राप्त रिपोर्टको निष्कर्ष पनि बैठकमा राखिनेछ।

विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएका थापा सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लडे पनि रास्वपाका उम्मेदवार अमरेस कुमार सिंहसँग पराजित भएका थिए। निर्वाचनपछि पार्टीभित्र नैतिक जिम्मेवारीबारे प्रश्न उठ्दै गएपछि उनले राजीनामा दिने निर्णय गरेका हुन्।

यद्यपि, पार्टीभित्र गगन थापाको राजीनामाबारे मत विभाजित देखिएको छ। निर्वाचनपछि पनि केही नेताहरूले उनलाई राजीनामा नदिन आग्रह गरेका थिए भने विभिन्न जिल्लाबाट पनि संयुक्त रूपमा समर्थन जनाउँदै राजीनामा फिर्ता लिन सुझाव दिइएको थियो।

अब भने, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकार गर्छ वा अस्वीकृत गर्छ भन्ने विषयले पार्टीको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

पोडकास्ट सुन्नुहोस