काठमाडौ –
प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा ७ जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका(२ गठ्ठाघर बस्ने सप्तरी कञ्चन रूप नगरपालिका(१२ घर भएका २६ वर्षीय विवेक रेग्मी, ललितपुर महालक्ष्मी नगरपालिका(२ बालकुमारी बस्ने भारत तेलंगाना हैदरावाद बोरण्डा थाना घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, भारत तेलंगाना हैदरावाद चारमिनार थाना घर भएका ३४ वर्षीय महम्मद ईमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र भारत तेलंगाना हैदरावाद कुकडपल्ली थाना घर भएका ४२ वर्षीय समादा गिरी रहेका छन् ।
काठमाडौं महानगरपालिका(१० थापा गाउँ लाखे चौर मार्गस्थित सिर्तेल होलिडेज प्रा।ली नामको ट्राभल एजेन्सीबाट सर्वसाधारण व्यक्तिहरूलाई युरोप, एसिया, अफ्रिका लगायत १ सय ७५ देशमा भ्रमणमा जानको लागि विभिन्न नम्बरबाट फोन गरी ट्राभल लोटरी परेको छ भनी झुक्यानमा पारी अत्यन्त सस्तो दरमा भ्रमण गराउने भनी विश्वास दिलाई पीडितहरूबाट रकम लिई भ्रमण नगराई रकम समेत फिर्ता नगरी ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई सोही कार्यालयबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म ३२८ जना पीडितहरूबाट २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
साथै प्रहरीले उनीहरूको साथबाट नेपाली नगद ७ लाख रुपैयाँ, कम्प्युटर १ थान, ल्यापटप १ थान, ट्याब १ थान, विभिन्न छाप ५ थान, रिसिप्ट प्याड ३ थान, विभिन्न व्यक्तिहरूको नाम, वतन, मोबाइल नम्बर समेतकोको विवरण उल्लेखित कुपनको अर्धकट्टी ५ हजार ७५ थान लगायतका सरसामान बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।













