२०८२ चैत्र ८ गते, आईतवार १२:५४

जनविश्वासको महान् पर्व चैती छठ आजदेखि सुर

वीरगन्ज – 

सामाजिक सद्भावलाई बलियो बनाउने तराई–मधेशको पवित्र पर्व चैती छठ आजदेखि विधिवत् सुरु भएको छ। शुद्धता, अनुशासन, भक्ति र भाइचाराको सन्देश बोकेको यस पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि सम्पन्न गरेका छन्।

छठ पूजा गर्ने व्रतालुहरूले नदी, तलाउ, पोखरीलगायत पवित्र जलाशयमा स्नान गरी शुद्ध आहार ग्रहण गर्दै व्रतको सुरुआत गरेका छन्। मिथिलाञ्चलको गौरव र मधेशको आत्मासँग जोडिएको यस महान् पर्वका अवसरमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिरहा, महोत्तरी, धनुषालगायतका जिल्लामा श्रद्धालुहरू उत्साहका साथ सहभागी भएका छन्।

मधेशको मुटुमा धड्किने आस्था

चैती छठ केवल एक पर्व मात्र होइन, यो मधेशको पहिचान, संस्कार र सामूहिक आस्थाको जीवित प्रतीक हो। पोखरी, तलाउ र नदी किनारमा मनाइने यस पर्वले जातीय छुवाछूत र विभेदलाई अस्वीकार गर्दै सबै मानव समान हुन् भन्ने सन्देश दिन्छ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने अद्वितीय परम्पराले यस पर्वलाई विश्वमै विशिष्ट बनाएको छ। परिवारको सुख, शान्ति, समृद्धि र सन्तानको स्वास्थ्यको कामनासहित व्रतालुहरू कठोर उपवास बस्दै प्रकृतिप्रति गहिरो सम्मान प्रकट गर्छन्।

चार दिनको कठोर साधना

पर्वको पहिलो दिन ‘नहाय–खाय’पछि दोस्रो दिन ‘खर्ना’, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी पर्व सम्पन्न गरिन्छ। यो केवल धार्मिक अनुष्ठान मात्र होइन, आत्मसंयम, अनुशासन र समर्पणको उत्कृष्ट उदाहरण हो, जसले मधेशको सामाजिक एकतालाई अझ सुदृढ बनाउँछ।

परम्परा, स्वाद र संस्कृतिको संगम

छठ पर्वमा ठेकुवा, खजुरिया, पेरुकिया जस्ता परिकार तथा ताजा फलफूल अर्पण गरिन्छ। यी परिकारहरू केवल खाद्य वस्तु मात्र होइनन्, मधेशको मौलिकता र सांस्कृतिक सम्पदाका जीवन्त प्रतीक हुन्।

पोडकास्ट सुन्नुहोस