काठमाडौँ-
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा सर्वसम्मतिले अस्वीकृत गर्ने निर्णय गरेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेपछि थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुभएको थियो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका थापाले पार्टीको पराजयलाई आफ्नो नेतृत्वको कमजोरी ठान्दै गत बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाउनुभएको थियो। उक्त राजीनामाका बारेमा साताभरि पार्टीभित्र र बाहिर व्यापक बहस भएको थियो।
आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूले थापाको राजीनामाका पक्ष र विपक्षमा धारणा राखेका थिए। अन्ततः पार्टीलाई अहिलेको कठिन परिस्थितिमा झन् नेतृत्वविहीन बनाउन नहुने निष्कर्ष निकाल्दै बैठकले राजीनामा अस्वीकृत गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
भर्खरै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी मात्र ३८ सिट जितेको थियो। यो नतिजा पार्टीको इतिहासमै कमजोरमध्येको एक मानिएको छ। निर्वाचन लगत्तै थापाले “हारको जिम्मेवारी नेतृत्वले लिनुपर्छ” भन्दै मार्गप्रशस्त गर्ने घोषणा गर्नुभएको थियो।
बैठकको निर्णयपछि प्रवक्ता चालिसेले भन्नुभयो, “पार्टीले अहिलेको पराजयको समीक्षा गर्दै अघि बढ्नुपर्ने बेला आएको छ। सभापति थापाको ऊर्जा र नेतृत्व पार्टीलाई झन् बढी आवश्यक छ भन्ने निष्कर्ष बैठकको रहेको छ।”













