काठमाडौँ-
शनिबार बिहान पक्राउ गरिएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ। पक्राउ लगत्तै स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई भर्ना गरिएको हो।
मिर्गौला प्रत्यारोपण गरिसकेका विशिष्ट बिरामी भएकाले ओलीलाई सुरुमा अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखिएको थियो। त्यहाँ नेफ्रोलोजी विभागका डा. रविन नेपालीसहितको विशेषज्ञ टोलीले उनको प्रारम्भिक स्वास्थ्य जाँच गरेको थियो। रगत परीक्षण, भिडियो एक्सरे र अन्य आवश्यक जाँचपछि उनलाई थप उपचारका लागि अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा सारिएको अस्पताल स्रोतले जनाएको छ।
लामो समयदेखि मिर्गौला सम्बन्धी समस्या झेल्दै आएका ओलीलाई हिरासतमा राख्नुअघि अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने कानुनी प्रावधान र उनको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले अस्पताल पुर्याएको थियो। हाल उनलाई विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा राखिएको छ।
यता, अध्यक्ष ओली अस्पताल भर्ना भएको खबरले शिक्षण अस्पताल परिसरमा एमाले कार्यकर्ता र सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। एमाले नेताहरूले ओलीको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गर्दै सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।













