काठमाडौं –
सत्ता र सुरक्षा संयन्त्रलाई एकैसाथ झस्काउने घटनाक्रममा गृहमन्त्री सुधन गुरुङ रातभरि प्रहरी हेडक्वाटरमै डेरा जमाएर बसेपछि शनिबार बिहान नाटकीय रूपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
उच्च सुरक्षा स्रोतका अनुसार ‘जसरी पनि पक्राउ’ गर्ने स्पष्ट निर्देशनसहित गुरुङले गृहसचिवदेखि प्रहरी नेतृत्वसम्मलाई रातभर सक्रिय राखे। गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, एआईजी ईश्वर कार्की र उमा चतुर्वेदी सहितको टोलीले फिल्डमा खटिएका प्रहरीलाई निरन्तर निर्देशन दिइरहेको थियो।
योजनाअनुसार पहिलो लक्ष्य भक्तपुरको कटुन्जेमा रहेका लेखक थिए भने दोस्रो चरणमा गुण्डुस्थित ओली निवासमा ‘कडा घेरा’ हाल्ने रणनीति बनाइएको थियो। फरक–फरक प्रहरी र सशस्त्र टोली परिचालन गरिँदा अपरेशनको कमान्ड काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सम्हालेको थियो।
भित्रको जानकारी अनुसार, बैठककै क्रममा प्रहरी प्रमुखले लिखित आदेश मागेपछि वातावरण केही तनावपूर्ण बनेको थियो। त्यसबेला गृहमन्त्री गुरुङले “प्रधानमन्त्री बालेन शाह को आदेश छ, म आफैँ निर्देशन दिँदैछु” भन्दै कडा अडान लिएका थिए।
लगत्तै एआईजी ईश्वर कार्कीले एसएसपी सन्तोष खड्का लाई हेडक्वाटर बोलाएर बलियो टोली तयार पार्न निर्देशन दिए। बिहान करिब ४ बजे संयुक्त टोली परिचालन भयो।
ओली निवासमा पुगेको टोलीले उनी सुतिरहेको अवस्थामा भेटेको थियो। प्रहरीले पक्राउ पुर्जी देखाएपछि ओली शान्त रूपमा उठेर साथ गएको स्रोतले जनाएको छ। लेखक पनि सोही बिहान नियन्त्रणमा परेका थिए।
जेनजी आन्दोलन दमनमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएका दुवैलाई अहिले जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ। सार्वजनिक बिदा परेकाले उनीहरूलाई आइतबार अदालतमा पेश गरिने तयारी छ।
यता, गृहमन्त्री गुरुङले भने यो कदमलाई ‘प्रतिशोध होइन, न्यायको शुरुआत’ भनेर व्याख्या गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कानूनभन्दा माथि कोही छैन” भन्दै उच्च पदस्थ व्यक्तिमाथि पनि कानूनी कारबाही अपरिहार्य भएको सन्देश दिएका छन्।













