२०८२ चैत्र १४ गते, शनिबार २०:४६

बालेन शाहको कदमविरुद्ध वीरगन्जमा एमालेको प्रदर्शन: ‘सिंहदरबार जलाउँछु भन्नेलाई पनि कारबाही होस्’

वीरगन्ज –

प्रधान मन्त्री  बालेन्द्र शाह (बालेन) को निर्देशनमा आफ्ना अध्यक्षलाई पक्राउ गरिएको विरोधमा नेकपा एमाले वीरगन्ज महानगर कमिटीले शनिबार बिहान वीरगन्जको मुख्य चोक घण्टाघरमा विरोध प्रदर्शन गरेको छ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता लियाकत अलिले सरकारको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गर्नुभयो। सम्बोधनका क्रममा नेता अलिले कानुन सबैका लागि समान हुनुपर्ने माग राख्दै राज्यले दोहोरो मापदण्ड अपनाएको आरोप लगाउनुभयो।

“हाम्रा अध्यक्षलाई विनाकारण पक्राउ गरेर राजनीतिक प्रतिशोध साँधिएको छ,” सम्बोधनको क्रममा नेता अलिले भन्नुभयो, “यदि नियम मिच्नेलाई कारबाही गर्ने नै हो भने सिंहदरबार जलाउँछु भन्ने र सरकारी सम्पत्ति नष्ट गर्नेहरूलाई किन खुल्ला छोडिएको छ? उनीहरूमाथि पनि तत्काल कानुनी कारबाही हुनुपर्छ।”

घण्टाघरमा भेला भएका एमाले कार्यकर्ताहरूले बालेन सरकार र प्रशासनको विरुद्धमा चर्को नाराबाजी गरेका थिए। उनीहरूले पक्राउ गरिएका आफ्ना नेतालाई अविलम्ब रिहा गर्न माग गर्दै माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।कार्यक्रममा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस