२०८२ चैत्र १७ गते, मंगलवार १९:०४

एमालेद्वारा देशभर चरणबद्ध आन्दोलनको घोषणा: वैशाख १२ मा काठमाडौँमा विशाल प्रदर्शन

काठमाडौँ-

नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले ‘प्रतिशोधपूर्ण’ ढंगले पक्राउ गरेको ठहर गर्दै देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार बसेको पार्टी सचिवालय बैठकले चैत २५ देखि वैशाख १२ गतेसम्मका विरोधका कार्यक्रमहरू तय गरेको हो।

सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै महासचिव शंकर पोखरेलले वर्तमान सरकारले राजनीतिक प्रतिशोध साध्नका लागि षड्यन्त्रपूर्वक अध्यक्ष ओलीलाई हिरासतमा राखेको आरोप लगाउनुभयो। एमालेले यो कदमलाई लोकतन्त्र र कानुनी शासनमाथिको प्रहार भन्दै तत्काल रिहाइको माग गरेको छ।

एमालेको आन्दोलन कार्यतालिका: आगामी आन्दोलनलाई व्यवस्थित बनाउन एमालेले तत्काल केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत गरेको छ। सार्वजनिक गरिएको तालिका अनुसार:

  • चैत २५ सम्म: सबै जिल्लाहरूमा आन्दोलन केन्द्रित बृहत् कार्यकर्ता भेला।

  • चैत २८ गते: देशका ७ सय ५३ वटै स्थानीय पालिकामा विरोध प्रदर्शन।

  • वैशाख ३ गते: वडा तहमा कार्यकर्ता भेला र अन्तरक्रिया।

  • वैशाख ७ गते: सातै प्रदेशका राजधानीहरूमा शक्ति प्रदर्शन।

  • वैशाख १२ गते: काठमाडौँमा विशाल विरोध प्रदर्शन र शक्ति प्रदर्शन।

महासचिव पोखरेलले सरकारले ‘जेनजी’ आन्दोलनको आडमा प्रमुख प्रतिपक्षी दलका नेतालाई गलाउन खोजेको भन्दै आन्दोलनमार्फत नै त्यसको डटेर सामना गर्ने चेतावनी दिनुभयो। शनिबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका ओली हाल प्रहरी हिरासतमा हुनुहुन्छ।

पोडकास्ट सुन्नुहोस