२०८२ चैत्र १८ गते, बुधबार १६:५३

धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ

जनकपुर –

धनुषा प्रहरीले भारी मात्रामा लागूऔषध सहित फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । धनुषाको ढल्केबरमा एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध सहित औषधि पसलका सञ्चालकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ढल्केबरस्थित निको फार्मेसीका सञ्चालक धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरका ५० वर्षिय रामकुमार महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबर, धनुषाले जनाएको छ । महतोले सञ्चालन गर्दै आएको फार्मेसीबाट टापेन्टा ट्याब्लेट ४६० पत्ता, स्पासरेस्ट ९५ पत्ता र डोवेल ६० पत्तासहित नगद १ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको छ ।
मिथिला नगरपालिका–१० रातुपुलस्थित लालगढबाट बर्दिवासतर्फ पैदल जाँदै गरेका तीन जना संकास्पद युवालाई जाँच गर्दा उनीहरूको साथबाट टापेन्टा लागूऔषध फेला परेको थियो । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौलीका २० वर्षीय साजन परियार, २१ वर्षीय दोर्जे लामा र २० वर्षीय दीपेश साह रहेका छन् ।
उक्त घटनामा थप अनुसन्धान गर्दै जाँदा लागूऔषध कारोबारमा निको फार्मेसीको संलग्नता खुलेपछि प्रहरीले छापा हानेर लागूऔषधसहित सञ्चालक महतोलाई पक्राउ गर्न सफल भएको हो । धनुषा प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

पोडकास्ट सुन्नुहोस