२०८२ चैत्र १८ गते, बुधबार १६:५०

‘न्यायाधीश चिनेको छु’ भन्दै ९ लाख ठग्ने श्रीमान श्रीमती प्रहरी खोरमा

काठमाडौँ –

न्याय दिलाइदिने नाममा ठगी गर्ने गिरोहको नयाँ शैली सार्वजनिक भएको छ। हिरासतमा रहेका व्यक्तिहरूलाई “धरौटीमा छुटाइदिन्छु” भन्दै नौ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा बूढानीलकण्ठ–मण्डिखाटार क्षेत्रका ४५ वर्षीय हरिबहादुर थापामगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापामगर) रहेका छन्।

प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, भदौ २३ र २४ गतेका प्रदर्शनपछि पुर्पक्षका लागि सुन्धारास्थित कारागारमा थुनामा रहेका तीन जनालाई लक्षित गर्दै थापामगरले आफू सर्वोच्च अदालतका न्यायाधीशसँग ‘पहुँच’ भएको दाबी गरेका थिए। उनले “धरौटीमा छुटाइदिन्छु” भन्दै पीडितलाई विश्वासमा पारेर धरौटी रकम र वकिल खर्चको बहानामा श्रीमतीको खातामा ९ लाख रुपैयाँ जम्मा गराएका थिए।

तर, पैसा बुझाएपछि कुनै प्रक्रिया अघि नबढेपछि ठगीको जाल उजागर भएको हो। अनुसन्धानका क्रममा यो योजनाबद्ध ठगी भएको पुष्टि भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले यस घटनालाई न्यायिक प्रक्रियामाथि विश्वासको दुरुपयोग गर्दै गरिएको गम्भीर अपराधका रूपमा लिएको जनाएको छ। हाल दुवै आरोपितमाथि थप अनुसन्धान जारी रहेको छ। यस्ता प्रलोभनमा नपर्न र कुनै पनि कानुनी प्रक्रिया सम्बन्धी काम गर्दा आधिकारिक निकाय वा प्रमाणित कानुन व्यवसायीसँग मात्र सम्पर्क राख्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ।

पोडकास्ट सुन्नुहोस