२०८२ चैत्र २४ गते, मंगलवार १५:०४

११ दिनमै सत्ता ‘र्याङ्किङ’ हल्लियो : विवादित मन्त्री साह पुछारमा, कसको उकालो-कसको ओरालो?

काठमाडौँ –

मन्त्रिपरिषद् गठन भएको झण्डै दुई हप्ता नबित्दै सरकारभित्रै ‘वरीयता खेल’ ले नयाँ मोड लिएको छ। चैत १३ मा तय गरिएको मन्त्रीहरूको मर्यादाक्रम ११ दिनमै फेरिँदा सत्ता भित्रको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले चैत २४ मा वरीयता पुनःनिर्धारण गरेसँगै केही मन्त्रीको कद उक्लिएको छ भने केही अप्रत्याशित रूपमा तल झरेका छन्। सुरुवातमै तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङ अब पाँचौँ स्थानमा झरेका छन् । यो परिवर्तनलाई धेरैले ‘सन्देशपूर्ण’ मानिरहेका छन्।

उता अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो दोस्रो स्थान जोगाइरहँदा परराष्ट्रमन्त्री शिशिर खनाल चौथोबाट उक्लिँदै तेस्रो स्थानमा पुगेका छन्। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पनि छलाङ मार्दै चौथो स्थान कब्जा गरेका छन्, जबकि भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छैटौँ स्थानमा खस्किएका छन्।

पर्यटनमन्त्री खडक राज पौडेलको अवस्था झन् नाटकीय देखिएको छ । सातौँबाट सिधै १२औँ स्थानमा झर्दा शिक्षा मन्त्री सस्मित पोखरेल पनि आठौँबाट ११औँमा पुगेका छन्। स्वास्थ्य मन्त्री निशा मेहता एक स्थान तल झर्दै दशौँमा पुगेकी छन् भने डा. विक्रम तिमल्सिना १०औँबाट १३औँमा पुगेका छन्।

यता संघीय मामिला मन्त्री प्रतिभा रावलले भने सुधार गर्दै ११औँबाट नवौँ स्थानमा उक्लिएकी छन्। कानुन मन्त्री सोविता गौतम पनि सातौँ स्थानमा उक्लिँदा कृषि मन्त्री गीता चौधरी भने १३औँबाट १४औँमा खस्किएकी छन्।

सबैभन्दा धेरै चर्चा भने श्रम मन्त्री दीपक साहको वरीयताले पाएको छ। पहिले १४औँ स्थानमा रहेका उनी अहिले सूचीकै पुछारमा पुगेका छन्। उनी विगतमा ठगी प्रकरणमा मुछिएको आरोपका कारण विवादमा तानिएका थिए, यद्यपि अदालतबाट सफाइ पाएका थिए। पछिल्लो समय श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति दिलाएको विषयले फेरि उनको आलोचना चुलिएको छ।

११ दिनमै यस्तो ठूलो हेरफेर हुनु सामान्य प्रक्रिया मात्र हो कि सत्ता समीकरणको संकेत? यो प्रश्न अहिले राजनीतिक वृत्तमा तातिएको छ।

पोडकास्ट सुन्नुहोस