सप्तरी –
सेवा दिने निकायमै ‘सेटिङ’को खेल चलिरहेको पुष्टि हुने अर्को घटना सार्वजनिक भएको छ। नेपाल विद्युत् प्राधिकरणको कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दास १ लाख ४० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग को विशेष टोलीले सोमबार सञ्चालन गरेको ‘स्टिङ अपरेसन’मा दास पक्राउ परेका हुन्। चार्जिङ स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरी लाइन उपलब्ध गराइदिने बहानामा सेवाग्राहीसँग रकम मागिरहेको उजुरीपछि उनलाई निगरानीमा राखिएको थियो।
इटहरीस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ बाट दासलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार रकम ‘डिल फाइनल’ भइसकेपछि नै टोलीले अपरेसन सफल पारेको थियो।
घटनापछि दासमाथि भ्रष्टाचार निवारण ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको छ। अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, “घटनासम्बन्धी थप प्रमाण संकलन र बयान लिने काम भइरहेको छ।”
सार्वजनिक सेवा प्रवाहमै हुने यस्ता घटनाले फेरि एकपटक प्रश्न उठाएको छ—विद्युत् जडान जस्तो आधारभूत सेवामा समेत घुस नदिई काम सम्भव छैन त?













