२०८२ चैत्र २४ गते, मंगलवार १५:०६

मध्यरातिमा प्रहरीको एक्सन : पिंगलास्थानमा गोली चलाउँदै दुई भारतीय नागरिक पक्राउ, एक किलो लागूऔषध बरामद

काठमाडौं –

राजधानीको पिंगलास्थान क्षेत्र सोमबार मध्यराति अचानक गोलीको आवाजले तरंगित बन्यो। लागूऔषध कारोबारको सूचनापछि खटिएको प्रहरी टोलीले ‘हाइ रिस्क अपरेसन’ सञ्चालन गर्दै दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले संदिग्ध गतिविधि देखिएपछि गाडीमा सवार दुई जनालाई रोक्न खोज्दा अवस्था तनावग्रस्त बनेको थियो। स्रोतका अनुसार भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप गोली चलाएको थियो, त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।

ब्यूरोका प्रमुख कृष्ण कोइरालाका अनुसार, लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा दुवै जनालाई पक्राउ गरिएको हो। उनीहरू भारतीय नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनास्थलबाट करिब एक किलोग्राम अवैध लागूऔषध समेत बरामद गरेको छ भने प्रयोग भएको गाडी पनि नियन्त्रणमा लिएको छ।

घटनापछि पिंगलास्थान क्षेत्रमा केहीबेर त्रासको अवस्था सिर्जना भए पनि अहिले अवस्था सामान्य भइसकेको छ। प्रहरीले यो घटनालाई संगठित लागूऔषध सञ्जालसँग जोडेर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

राजधानीमै यस्तो ‘ड्रामाटिक’ अपरेसन हुनुका कारण लागूऔषध तस्करीको जालो कति गहिरो छ भन्ने फेरि उजागर भएको छ।

पोडकास्ट सुन्नुहोस