वीरगन्ज –
वीरगन्जको पावरहाउस चोकमा आज बिहान सशस्त्र प्रहरीले जाँचका क्रममा बरामद गरेको मोटरपार्ट्स तथा सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।
सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेश–०३–००३ स २८०८ नम्बरको लोडरमा ट्रकमा प्रयोग हुने एक्सल लगायतका पार्टपुर्जा कागजातविहीन अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिएको हो।
राधेमाईबाट लक्ष्मनवा तर्फ जाँदै गरेको सो लोडरलाई पावरहाउस चोकमा रोकेर गरिएको चेकजाँचका क्रममा सामानको कुनै पनि वैध कागजात नभेटिएको प्रहरीले जनाएको छ। त्यसपछि लोडर र सामान नियन्त्रणमा लिएर भन्सार प्रक्रिया अघि बढाइएको हो।
मोहन निरौला का अनुसार बिहान करिब ५ बजे नियन्त्रणमा लिइएको सामान पछि ६:३० बजे भ्याट बिलसहित आवश्यक कागजात प्रस्तुत गरिएको भए पनि प्रारम्भिक अवस्थामा कर छलिएको आशंकामा अनुसन्धान अघि बढाइएको हो।
बरामद सामानको अनुमानित मूल्य करिब ६ लाख रुपैयाँ र त्यसमा लोड गरिएका मोटरपार्ट्सको मूल्य ५५ हजार ३६० रुपैयाँ रहेको भन्सारलाई बुझाइएको पत्रमा उल्लेख गरिएको छ।
बरामद सामग्रीमा ट्रकमा प्रयोग हुने एक्सल २ थान, १० एमएमको एमएस प्लेट १ थान तथा फलामका पाइप लगायतका सामान रहेको प्रहरीले जनाएको छ।
स्रोतका अनुसार उक्त मोटरपार्ट्स अलौं नाका हुँदै अवैध रूपमा भित्र्याइएको आशंका गरिएको छ। सीमा क्षेत्रका अलौं भन्सार, कोनिहा नाका र सिर्सिया क्षेत्रमार्फत मोटरपार्ट्सदेखि कपडा, सौन्दर्य सामग्री तथा पशुजन्य वस्तुहरू समेत अवैध रूपमा भित्रिने गरेको गुनासो पटक–पटक उठ्ने गरेको छ।













