२०८२ चैत्र २५ गते, बुधबार ०९:४४

इरान–अमेरिका र इजरायलबीच युद्धविराम: एसियाली शेयर बजारमा उछाल, कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौं –

इरान–अमेरिका र इजरायलबीच दुई हप्ताको युद्धविराम भएको खबर सार्वजनिक भएपछि बुधबार बिहान एसियाली शेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ । मध्यपूर्वमा सैन्य तनाव कम भएको र हर्मुज जलमार्ग पुनः खोल्ने प्रतिबद्धता आएपछि कच्चा तेलको मूल्यमा पनि भारी गिरावट आएको छ ।

जापानीज शेयरबजार निक्केई २२५ मा ५.२८ प्रतिशत (२,८२२.४४ अंक) को बढोत्तरी देखिएको छ भने दक्षिण कोरियाको कोस्पी ५.६१ प्रतिशत वा ३०८.११ अंकले बढेको छ । भारतको गिफ्ट निफ्टीपनि ३ प्रतिशतभन्दा बढीले बढेर २३,८४१ को स्तरमा पुगेको छ । अन्य क्षेत्रीय सूचकांकहरू जस्तै हङकङको ह्याङ सेङ ३.०४ प्रतिशत र ताइवान वेटेड ३.७२ प्रतिशतले बढेका छन् ।
युद्धविरामको घोषणाले ऊर्जा क्षेत्रमा ठूलो प्रभाव पारेको छ । ब्रेन्ट क्रुड तेलको मूल्य १३.०४ प्रतिशतले घटेर प्रति ब्यारेल ९५.०२ डलरमा पुगेको छ भने अमेरिकी कच्चा तेल १३.७६ प्रतिशतले घटेर ९७.४१ डलरमा झरेको छ । अर्कोतर्फ, सुनको मूल्यमा भने २.१३ प्रतिशत (१००.४५ अंक) को वृद्धि देखिएको छ ।

विश्वका लागि राहतको खबर यो छ कि इरानी पक्षले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावलाई स्वीकार गरेको छ । इरानले आगामी दुई हप्ताका लागि हर्मुज जलमार्गबाट सुरक्षित आवतजावत गर्न दिने र आफ्ना सैन्य गतिविधिहरू रोक्ने सहमति जनाएको छ ।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीले सामाजिक सञ्जाल एक्स मार्फत इरानको आधिकारिक धारणा सार्वजनिक गर्दै यदि आफूहरूमाथि आक्रमण नभए इरानले पनि सैन्य कारबाही रोक्ने बताएका छन् । उनले यस प्रक्रियामा मध्यस्थता गरेकोमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र फिल्ड मार्शल असिम मुनिरलाई धन्यवाद दिएका छन् ।

अराघ्चीले लेखेका छन,‘इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको तर्फबाट म यो घोषणा गर्दछुः यदि इरान विरुद्धको आक्रमण रोकियो भने हाम्रा शक्तिशाली सशस्त्र बलहरूले पनि रक्षात्मक कारबाही बन्द गर्नेछन् । दुई हप्ताको अवधिका लागि हर्मुज नाकाबाट सुरक्षित आवागमन सम्भव हुनेछ ।’यो दुई हप्ताको समयले अमेरिका र इरानबीच थप विस्तृत वार्ताका लागि बाटो खोल्ने अपेक्षा गरिएको छ । यसै सिलसिलामा पाकिस्तानको इस्लामाबादमा एक शान्ति शिखर सम्मेलन हुने सम्भावना पनि बढेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको १० बुँदे प्रस्तावलाई वार्ताको आधार मान्दै इरानमाथिको बमबारी र आक्रमण स्थगित गर्ने घोषणा गरेका थिए । ट्रम्पले अमेरिकाले आफ्ना अधिकांश सैन्य लक्ष्यहरू प्राप्त गरिसकेको र अब दीर्घकालीन शान्तिका लागि पहल गर्ने बताएका थिए । एएनआई

पोडकास्ट सुन्नुहोस