२०८२ चैत्र २५ गते, बुधबार ०९:४३

देशभर मौसम ‘अलर्ट’: आज सातै प्रदेशमा हावाहुरी, चट्याङ्ग र असिनासहित वर्षा

काठमाडौँ –

आज देशभर मौसम एकाएक बदलिने संकेत देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावले सातै प्रदेशमा हावाहुरी, चट्याङ्ग र असिनासहित वर्षा हुने सम्भावना रहेको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने ,अन्य भूभागमा मौसम खुला जस्तै देखिए पनि दिउँसोदेखि स्थिति फेरिने अनुमान गरिएको छ।

दिउँसोपछि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश पूर्ण रूपमा बादलले ढाकिनेछन्। यी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र मधेसका केही भागमा पनि यस्तै गतिविधि देखिने अनुमान गरिएको छ।

विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने चेतावनी दिइएको छ। त्यस्तै मधेसदेखि पहाडसम्मका विभिन्न स्थानमा हावाहुरीको जोखिम पनि उच्च रहेको छ।

राति भने मौसम अझ सक्रिय बन्दै देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद्हरूले हावाहुरी, चट्याङ्ग र असिनाबाट हुन सक्ने क्षति प्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

पोडकास्ट सुन्नुहोस