जनकपुर –
जनताको सेवा गर्ने जिम्मेवारी बोकेका जनप्रतिनिधि नै कर्मचारीमाथि हात उठाउन थालेपछि शासन प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। धनुषाधाम नगरपालिकाका नगर प्रमुख वालेश्वर मण्डलमाथि आफ्नै कर्मचारीलाई कुटपिट गरेको आरोप लागेपछि घटना सार्वजनिक भएको हो।
आर्थिक प्रशासन शाखामा कार्यरत सहलेखापाल सुरेश कुमार मण्डलले मेयरबाटै कुटाइ खाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेका छन्। उनका अनुसार कार्यालय समयमै काम गरिरहेको बेला नगर प्रमुखले कार्यकक्षमा बोलाएर मोबाइल खोसे, गालीगलौज गरे र त्यसपछि कुटपिटमा उत्रिए।
“ज्यान जोगाउनै गाह्रो भयो,” पीडित मण्डलको भनाइ छ। उनले आफू अहिले असुरक्षित महसुस गर्दै कार्यालय जान नसकेको बताएका छन्।
घटनालाई अझ गम्भीर बनाउने कुरा के छ भने, विवादको जरो लेखा स्रेस्ताको साँचो र अख्तियारको अनुसन्धानसँग जोडिएको देखिन्छ। लेखा शाखाको साँचो कम्प्युटर अपरेटरकहाँ रहेको, उनी सम्पर्कविहीन भएको र त्यहीबीच अख्तियारको टोलीले कागजात माग्दा समस्या उत्पन्न भएको पीडितको दाबी छ।
चैत २४ गते साँचो बुझाउने सहमति भए पनि कार्यान्वयन हुन सकेन। उल्टै, साँचो माग्न खोज्दा ‘नगर प्रमुख आएपछि मात्र दिने’ भनिएको र त्यसपछि केही बेरमै मेयर स्वयं कार्यालय आएर कुटपिट गरेको आरोप छ।
पीडितका अनुसार, नगर प्रमुखले न केवल हातपात गरे, तर लेखा स्रेस्ता रहेको कोठाको साँचो समेत आफ्नो नियन्त्रणमा लिएका छन्। यसबीच अख्तियारमा परेको उजुरीसँग सम्बन्धित कागजात नष्ट गर्न खोजिएको आशंका समेत उनले व्यक्त गरेका छन्।
सबैभन्दा चासोको विषय,कानुन कार्यान्वयन गराउने जिम्मेवारीमा रहेका जनप्रतिनिधि स्वयंले नै कानुन हातमा लिए भने सर्वसाधारणले न्याय कहाँ खोज्ने?
घटनापछि पीडितले स्पष्ट माग अघि सारेका छन् ।नगर प्रमुखलाई तत्काल पक्राउ गरियोस्, अभद्र व्यवहार र कुटपिटमा मुद्दा दर्ता गरियोस्, र आफूलाई सुरक्षा सुनिश्चित गरियोस्।
तर, आरोपित नगर प्रमुख भने सम्पर्कमा छैनन्। फोन उठेन, प्रतिक्रिया आएन।
यसले झन् शंका बढाएको छ ,के सत्ताको आडमा हिंसा ढाकछोप हुँदैछ?
यो घटना केवल एक कर्मचारीमाथिको कुटपिट होइन, स्थानीय तहमा बढ्दो शक्ति दुरुपयोगको खतरनाक संकेतका रूपमा हेरिएको छ।
















