काठमाण्डौं –
लामो तनावपछि मध्यपूर्वमा केही राहतको सास फेर्ने संकेत देखिएको छ। लेबनान र इजरायलबीच १० दिने युद्धविराम औपचारिक रूपमा लागू भएसँगै क्षेत्रीय द्वन्द्व शिथिल हुने आशा पलाएको छ। तर, यो शान्ति कति टिकाउ हुन्छ भन्ने प्रश्न अझै खुला छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले अर्को ठूलो संकेत दिएका छन् । इरानसँगको तनाव पनि अब अन्त्यतिर उन्मुख रहेको उनको दाबी छ। उनले यसै साताको अन्त्यसम्म अमेरिका -इरान वार्ताको अर्को चरण हुन सक्ने बताउँदै सम्भावित ऐतिहासिक सम्झौताको झल्को दिएका हुन्।
ट्रम्पका अनुसार, इरान२० वर्षसम्म आणविक हतियार विकास नगर्ने सर्तमा सहमत हुन सक्ने अवस्थामा पुगेको छ। पाकिस्तानको इस्लामाबादमा हालै भएको गोप्य वार्तामा यही विषय मुख्य एजेन्डा बनेको थियो। “हामी सम्झौताबाट धेरै टाढा छैनौँ,” ट्रम्पले आत्मविश्वासका साथ भने।
तर जमिनको यथार्थ भने अझै अस्थिर देखिन्छ। युद्धविराम लागू भएलगत्तै लेबनानको राजधानी बेरुद्धमा खुसीयाली मनाइए पनि केही घण्टामै उल्लङ्घनको आरोप–प्रत्यारोप सुरु भइसकेको छ। लेबनानी सेनाले इजरायलले दक्षिणी क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएको छ भने इजरायली पक्षले हिजबुलाहका गतिविधिको जवाफ दिएको दाबी गरेको छ।
हिजबुलाहले पनि युद्धविराम लागू हुनुअघि अन्तिम क्षणसम्म आक्रमण जारी राखेको विवरण सार्वजनिक गरेको छ, जसले शान्ति प्रक्रिया कति नाजुक अवस्थामा छ भन्ने देखाउँछ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत हिजबुलाहलाई संयम अपनाउन चेतावनी दिँदै “अब थप हत्या हुनुहुँदैन, शान्ति नै अन्तिम लक्ष्य हो” भनेका छन्।
यो युद्ध केवल क्षेत्रीय मात्र नभई विश्व अर्थतन्त्रमा समेत ठूलो असर पारिरहेको छ। स्टेट अफ हर्मुश बन्द हुँदा विश्वको झण्डै पाँचौँ हिस्सा तेल आपूर्ति प्रभावित भएको छ, जसले तेलको मूल्य आकासिएको छ र विश्व अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्ने खतरा बढेको छ।
यता, इरानसँग सम्झौता भए तेलको मूल्य घट्ने, मुद्रास्फीति नियन्त्रणमा आउने र आणविक संकट टर्ने ट्रम्पको दाबी छ। उनले इजरायली प्रधानमन्त्री Benjamin बेन्जामिन नेतन्याहु र लेबनानी राष्ट्रपति जोसेफ आउनसँग ‘सकारात्मक’ संवाद भएको खुलासा गर्दै छिट्टै ह्वाइट हाउसमा उच्चस्तरीय भेटघाटको तयारी भइरहेको बताए।
पाकिस्तानको मध्यस्थतामा भइरहेको कूटनीतिक प्रयास पनि निर्णायक मोडमा पुगेको छ। सेना प्रमुख असिम मुनिरको तेहरान भ्रमणले सहमतिको बाटो खोल्ने अपेक्षा गरिएको छ।
तर सबै पक्ष सहमत भइसकेका छैनन्। इरानले अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा र भविष्यमा आक्रमण नहुने ग्यारेन्टीको माग राखेको छ भने अमेरिकाले अत्यधिक संवर्धित युरेनियम हटाउन दबाब बढाइरहेको छ। सम्झौता नभए सैन्य विकल्प खुला रहने चेतावनी समेत अमेरिकी पक्षबाट आएको छ।
समग्रमा, मध्यपूर्व अहिले ‘युद्ध र शान्ति’को दोबाटोमा उभिएको छ । जहाँ सानो गल्तीले फेरि ठूलो द्वन्द्व भड्किन सक्छ, तर सफल कूटनीतिले इतिहासकै महत्वपूर्ण शान्ति सम्झौताको ढोका खोल्न सक्छ।













