२०८३ बैशाख ४ गते, शुक्रबार २०:४०

२४ घण्टामै चालक अनुमतिपत्र उपलब्ध गराउने मन्त्री तिमिल्सिनाको दाबी

काभ्रेपलाञ्चोक –

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन महिनौँ कुर्नुपर्ने झन्झट अब अन्त्य हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती-५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै ठूलो घोषणा गरेका छन् । अब ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छापिने र हस्तान्तरण गरिनेछ।

स्थलगत निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नागरिकले भोग्दै आएको ढिलाइ अब इतिहास बन्ने बताए। “अब सम्भव कामलाई असम्भव भन्दै रोकिराख्ने समय सकियो,” उनले स्पष्ट पारे, “आजैदेखि २४ घण्टाभित्र लाइसेन्स छपाइ प्रक्रिया पूरा गर्ने व्यवस्था लागू भएको छ।”

सरकारले लामो समयदेखि थन्किएका लाइसेन्स छपाइ कार्यलाई तीव्र बनाउँदै आगामी असार मसान्तभित्र सबै बाँकी लाइसेन्स छापिसक्ने महत्वाकांक्षी लक्ष्यसमेत अघि सारेको छ। यससँगै नागरिकले ट्रायल पास गरेपछि महिनौँ कुर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई “राज्यको महत्वपूर्ण सम्पत्ति” का रूपमा विकास गर्नुपर्नेमा जोड दिए। विगतमा इच्छाशक्ति अभाव र व्यवस्थापन कमजोरीका कारण जटिल बनेका समस्या अब समाधानतर्फ उन्मुख भएको उनको भनाइ थियो।

करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण वर्षौँदेखि प्रयोगविहीन रहनु दुःखद भएको उल्लेख गर्दै उनले ती सबै मेसिन पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिए। तीन वर्षदेखि थन्किएका मेसिन अहिले सञ्चालनमा आइसकेको भन्दै उनले विगतमा किन काम हुन सकेन भन्ने प्रश्नसमेत उठाए।

डाटा सुरक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिँदै उनले सरकार जनताको हितमा मात्रै केन्द्रित हुने बताए। “सरकार कसैको स्वार्थमा होइन, जनताको चाहनामा चल्छ,” उनले भने, “सेवाग्राहीलाई केन्द्रमा राखेर गुनासो सुन्ने र समाधान गर्ने प्रतिबद्धता हाम्रो छ।”

यतिमात्र होइन, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधार पनि मन्त्रालयको प्राथमिकतामा परेको छ। नेपाल टेलिकमको सेवामा देखिएका समस्या समाधान गर्दै आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य सरकारको छ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार अहिले दैनिक करिब ४० हजार लाइसेन्स छापिँदै आएका छन्। विदेश जाने नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकतामा राखिएको छ भने दैनिक करिब एक हजार आवेदन प्राप्त हुने गरेको छ।

उनले वैशाख १२ भित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने योजना सुनाए। साथै, भविष्यमा यही केन्द्रबाट राहदानी, स्मार्ट कार्ड, चेकबुक, हुलाक टिकट तथा अन्तःशुल्क स्टिकरसमेत छाप्ने दीर्घकालीन योजना अघि बढाइएको छ, जसका लागि करिब ८ अर्ब रुपैयाँको विस्तृत प्रस्ताव सरकारसमक्ष पेश भइसकेको छ।

निरीक्षण कार्यक्रममा सांसदहरू मधुकुमार चौलागाईं, डा. राम लामा, बदनकुमार भण्डारीलगायतको उपस्थिति रहेको थियो। मन्त्री तिमिल्सिनाले केन्द्रको भौतिक पूर्वाधार, मेसिनरी तथा खाली संरचनाबारे समेत विस्तृत जानकारी लिएका थिए।

अबको संकेत स्पष्ट छ,सेवा ढिलो होइन, छिटो हुनेछ। नागरिकले लाइसेन्सका लागि वर्षौं कुर्नुपर्ने दिन अब सकिँदैछन्।

पोडकास्ट सुन्नुहोस