२०८३ बैशाख ५ गते, शनिबार १९:३२

वीरगन्ज मेनरोडका अतिक्रमित संरचना आइतबार बिहानदेखि हटाइने : डिभिजन प्रमुख अधिकारी

वीरगन्ज-

वीरगन्जको मुख्य सडक क्षेत्रमा रहेका अतिक्रमित भौतिक संरचना आइतबार बिहानदेखि हटाइने भएको छ। सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख गुरु अधिकारीले आइतबार बिहानैदेखि अतिक्रमण हटाउने तथा सडक विस्तारको काम सुरु गरिने जानकारी दिनुभयो।

उहाँका अनुसार, सडक विस्तारका लागि आवश्यक मेसिनरी र जनशक्तिको सम्पूर्ण तयारी पूरा भइसकेको छ। “सबै प्रबन्ध मिलिसकेको छ, बिहानैदेखि काम सुरु हुन्छ,” अधिकारीले भन्नुभयो।

शनिबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित समन्वय बैठकमा सहभागी हुन वीरगन्ज आइपुग्नुभएका अधिकारीले सञ्चारकर्मीसँग कुराकानी गर्दै सरोकारवाला निकायबीच छलफल र समन्वयमा समय लागेकाले आजै सुरु गर्ने भनिएको काम आइतबार बिहानदेखि सुरु गरिने स्पष्ट पार्नुभयो। उहाँका अनुसार, वीरगन्जका पाँच स्थानबाट एकैसाथ सडक विस्तारको काम अघि बढाइनेछ।

वीरगन्जको गण्डक चोकदेखि इनर्वास्थित मितेरी पुलसम्मको मुख्य सडकको दुवैतर्फ २५–२५ मिटर क्षेत्रभित्र पर्ने सबै संरचना हटाइने तयारी गरिएको छ। यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्साले सरोकारवाला निकायहरूसँग छलफल गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पौडेलले जानकारी दिनुभयो।

पौडेलका अनुसार, वीरगन्ज उद्योग वाणिज्य संघ, वीरगन्ज महानगरपालिका, पर्सा क्षेत्र नं. १ र २ का प्रतिनिधिसभा सदस्य, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्युत प्राधिकरणलगायतका निकायसँग समन्वय गरी आवश्यक तयारी पूरा गरिएको छ।

सडक विस्तारका क्रममा आउन सक्ने सम्भावित अवरोधलाई ध्यानमा राख्दै पर्याप्त सुरक्षाकर्मी परिचालन गरिनेछ। डोजर तथा अन्य उपकरणको व्यवस्थापन सडक डिभिजन कार्यालय र वीरगन्ज महानगरपालिकाले संयुक्त रूपमा गरेका छन्।

गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, वीर्ता, छपकैया हुँदै भन्सार र मितेरी पुलसम्मका अतिक्रमित संरचना हटाइने तयारी छ। यसका लागि सडक डिभिजन कार्यालयका ९ वटा र वीरगन्ज महानगरपालिकाका ४ वटा डोजरसहित आवश्यक मेसिनरी तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

स्थानीय प्रशासनले कुनै पनि अवरोध हुन नदिने स्पष्ट पार्दै सडक विस्तार कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

पोडकास्ट सुन्नुहोस