वीरगन्ज –
यदि तपाईँ भारतीय सहर रक्सौलबाट इलेक्ट्रिक (इभी) मोटरसाइकल किनेर वा भारतीय नम्बर प्लेटकै इभी मोटरसाइकल वीरगन्जका सडकमा निर्धक्क गुडाउँदै हुनुहुन्छ भने अब सावधान हुनुहोस्। वीरगन्ज भन्सार कार्यालय र सुरक्षा निकायले अवैध रूपमा भित्रिएका भारतीय इभी मोटरसाइकलमाथि कडा अप्रेसन सुरु गरेपछि तपाईँको सवारी साधन जुनसुकै बेला जफत हुन सक्ने देखिएको छ।
पछिल्लो समय वीरगन्ज भन्सार नाकामा जाँचमा व्यापक कडाइ गरिएसँगै २२ भन्दा बढी भारतीय इभी मोटरसाइकलहरू पक्राउ परिसकेका छन्। भन्सार प्रक्रिया पूरा नगरी र आवश्यक कागजात विना नेपाल भित्र्याइएका यी मोटरसाइकलहरू भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो। रक्सौलमा सस्तोमा पाइने र पेट्रोलको झन्झट नहुने भएपछि केही व्यक्तिहरूले लुकिछिपी वा सेटिङमा यस्ता मोटरसाइकल भित्र्याएर प्रयोग गर्ने प्रवृत्ति बढेपछि प्रशासनले निगरानी बढाएको हो।
मुख्य भन्सार नाका मात्र होइन,वीरगन्ज आसपासका विभिन्न साना नाकाहरूबाट भित्रिने इभी मोटरसाइकलमाथि पनि सशस्त्र र नेपाल प्रहरीले निगरानी बढाएको छ। अवैध रूपमा नेपाल भित्र्याइएका सवारी साधन जुनसुकै ठाउँबाट बरामद भए पनि त्यसलाई तस्करीको मालवस्तु सरह मानेर जफत गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने भन्सार स्रोतले जनाएको छ।
किन भइरहेको छ कडाइ ?
१. राजस्व चुहावट: भन्सार नतिरी भारतीय सवारी साधन नेपालमा चलाउँदा राज्यलाई ठुलो राजस्व घाटा भइरहेको छ।
२. अवैध प्रयोग: आवश्यक दर्ता विना चल्ने यस्ता सवारी साधन दुर्घटनामा परे वा आपराधिक क्रियाकलापमा प्रयोग भए पहिचान गर्न असम्भव हुने सुरक्षा निकायको निष्कर्ष छ।
३. तस्करीलाई प्रोत्साहन: सस्तो पर्ने लोभमा सीमावर्ती बजारबाट धमाधम मोटरसाइकल भित्रिँदा वैधानिक रूपमा व्यवसाय गर्नेहरू मारमा परेका छन्।
भन्सार तथा सुरक्षा निकायले स्पष्ट पारेका छन् कि आवश्यक कागजात र भन्सार प्रक्रिया पूरा नगरी चलाइएका जुनसुकै भारतीय सवारी साधन जफत गरिनेछ। यसबाट सवारी धनीले आफ्नो लगानी त गुमाउँछन् नै, साथै भारी जरिवाना र कानुनी झमेला समेत व्यहोर्नुपर्ने हुन्छ। त्यसैले, सस्तोको लोभमा भारतीय इभी मोटरसाइकल नेपाल भित्र्याउनुअघि कानुनी जोखिमबारे सोच्नुपर्ने बेला आएको छ।













