२०८३ बैशाख ११ गते, शुक्रबार १६:४७

पर्सामा भूमिगत जलस्तर ह्वात्तै घट्यो:  चापाकलबाट पानी आउन छाड्यो

वीरगन्ज-

पर्सा जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा भूमिगत पानीको स्रोत सुक्न थालेपछि खानेपानीको गम्भीर अभाव सुरु भएको छ। वैशाखको चर्को गर्मीसँगै जमिनमुनिको पानीको सतह (वाटर लेभल) निकै तल गएपछि वर्षौँदेखि प्रयोगमा रहेका चापाकलहरूले पानी तान्न छाडेका हुन्।

सहरी क्षेत्रमा हाहाकार

विशेष गरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाहरूमा खानेपानीको समस्या विकराल बन्दै गएको छ। महानगरको रानीघाट, छपकैया, नगवा र मुडली लगायतका स्थानमा रहेका अधिकांश चापाकलहरू सुकेका छन्। यी क्षेत्रका बासिन्दाहरू अहिले खानेपानीका लागि छिमेकीका डिप बोरिङ वा टाढा–टाढा रहेका सार्वजनिक धाराहरूमा धाउन बाध्य छन्।

छपकैयाकी एक स्थानीय गृहिणीका अनुसार विगत केही हप्तादेखि चापाकलबाट धमिलो पानी आउने वा हावा मात्र निस्कने समस्या थियो, तर अहिले पूर्ण रूपमा पानी आउन छाडेको छ। “पहिले जेठ असारमा अलिअलि समस्या हुन्थ्यो, तर अहिले वैशाखमै यस्तो बिचल्ली होला भन्ने सोचेका थिएनौँ,” उनले भनिन्।

चुरे दोहन र वन विनाशको असर

विज्ञहरूका अनुसार तराईमा भूमिगत पानी रिचार्ज गर्ने मुख्य क्षेत्र चुरे पहाड र भावर क्षेत्र हो। तर, पछिल्लो समय चुरेमा भइरहेको अत्यधिक दोहन, जथाभाबी डोजर चलाएर खनिएका सडक र ढुङ्गा, गिट्टी, बालुवाको अनियन्त्रित उत्खननका कारण पानीको सतह निकै तल पुगेको हो।

खेतीपाती सुरु नहुँदै समस्या

सामान्यतः असारमा किसानहरूले सिँचाइका लागि बोरिङबाट ठुलो मात्रामा पानी तान्दा सतह घट्ने गर्थ्यो। तर, यस वर्ष खेतीपातीको सिजन सुरु नहुँदै चापाकलहरू सुक्नुले जलवायू परिवर्तन र वातावरण विनाशको भयावह तस्विर प्रस्तुत गरेको छ।

वीरगन्जका रानीघाट र नगवा जस्ता बाक्लो बस्ती भएका ठाउँमा खानेपानी संस्थानको पाइपलाइन पुगेका घरमा केही राहत भए पनि विपन्न र चापाकलकै भरमा रहेका परिवारहरू पानीको थोपा थोपाका लागि तड्पिनुपर्ने अवस्था आएको छ। स्थानीय प्रशासन र महानगरपालिकाले यस समस्याको दीर्घकालीन समाधानका लागि चासो देखाउनुपर्ने माग बढ्दो छ।

वीरगन्ज सडक विस्तार: घर गुमाएका पीडितहरू सडकमा, मुआब्जा र क्षतिपूर्तिको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

वीरगन्ज- वीरगन्जको सडक विस्तारका क्रममा वर्षौँदेखि बसोबास गर्दै आएका घरधनीहरूको

वीरगन्ज सडक विस्तार: घर गुमाएका पीडितहरू सडकमा, मुआब्जा र क्षतिपूर्तिको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

वीरगन्ज- वीरगन्जको सडक विस्तारका क्रममा वर्षौँदेखि बसोबास गर्दै आएका घरधनीहरूको

पोडकास्ट सुन्नुहोस