जनकपुरधाम-
आज मिथिलाको पवित्र धर्तीमा श्रद्धा, भक्ति र आस्थाको अद्भुत संगम देखिएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता उत्पत्ति दिवस जानकी नवमी यस वर्ष पनि माता सीताप्रति अगाध श्रद्धा अर्पण गर्दै भव्य रूपमा मनाइँदैछ।
त्रेतायुगको दिव्य कथा अनुसार मिथिलाका धर्मात्मा राजा जनकले यज्ञका क्रममा खेत जोत्दा यही जनकपुरको पावन भूमिबाट माता सीताको अवतरण भएको विश्वास गरिन्छ। पृथ्वीकी छोरीका रूपमा अवतारित भएकी सीता केवल एक पात्र होइनन् । उनी धैर्य, करुणा, त्याग र पवित्रताको सजीव मूर्ति हुन्।
आज जनकपुरधामस्थित जानकी मन्दिरमा बिहानैदेखि भक्तजनको अपार भीड लागेको छ। भजन-कीर्तन, आरती र वैदिक मन्त्रोच्चारणले सम्पूर्ण वातावरण आध्यात्मिक ऊर्जा र दिव्य भावनाले भरिएको छ। श्रद्धालुहरू माता सीताको दर्शन पाउन आतुर देखिन्छन्, मानौं उनीहरू आफ्नै माताको सान्निध्य खोजिरहेका छन्।
माता सीता नारीत्वको सर्वोच्च आदर्श हुन्। अयोध्याका राजकुमार श्रीरामसँग विवाह गरेपछि उनले जीवनका प्रत्येक कठिन परिस्थितिलाई धैर्य र मर्यादासहित सामना गरिन्। वनवासमा साथ दिँदै, रावणद्वारा हरण हुँदा समेत आफ्नो पतिव्रता धर्ममा अडिग रहनु ,उनको अटल निष्ठाको उदाहरण हो।
राजदरबारको सुख-सुविधा त्यागेर लोकमर्यादाका लागि गर्भावस्थामै वनवास रोज्नु, लव-कुशलाई वाल्मीकि आश्रममा संस्कार र शिक्षाले सम्पन्न बनाउनु, र अन्ततः आफ्नो पवित्रताको प्रमाण दिन धर्तीमाताको काखमा समाहित हुनु । यी सबै घटनाले माता सीतालाई एक दिव्य शक्ति र अनुपम आदर्शका रूपमा स्थापित गरेका छन्।
उनको जीवन केवल इतिहास वा धर्मग्रन्थमा सीमित छैन, आज पनि हरेक नारीका लागि प्रेरणा र शक्ति स्रोतका रूपमा जीवित छ। त्यही कारण नेपाल सरकारले उनलाई राष्ट्रिय विभूतिका रूपमा उच्च सम्मान दिएको छ।
देशभरका राम-जानकी मन्दिरहरूमा आज विशेष पूजा-अर्चना भइरहेको छ। तर जनकपुरधाममा देखिएको भक्तिको समुद्रले एक सन्देश स्पष्ट पार्छ । माता सीता केवल पूजनीय देवी मात्र होइनन्, उनी मानवता, सहनशीलता र मर्यादाको अमर प्रतीक हुन्।













