वीरगन्ज –
भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लामा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित दुई जना नेपाली नागरिक पक्राउ परेका छन्। पूर्वी चम्पारणको महादेव नोनेयाडिहस्थित सैनिक रोड नजिकैबाट भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १२, धर्मनगर निवासी ३४ वर्षीय वकील महतो र पर्साको वीरगन्ज महानगरपालिका वडा नं. ११, श्रीपुर निवासी ३२ वर्षीय पूरन ठाकुर रहेका छन्। उनीहरूले प्रयोग गरेको AP28DD9386 नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्ने क्रममा प्रहरीले लुकाइछिपाई राखिएको अवस्थामा लागुऔषध फेला पारेको थियो।
प्रहरीका अनुसार उनीहरूको साथबाट नूफिन, फेनेर्गन र डायजेपाम गरी तीन प्रकारका जम्मा १२ हजार थान लागुऔषध इन्जेक्सन बरामद भएको छ। बरामद गरिएको लागुऔषधको परिमाण ठूलो रहेको र यो सीमावर्ती क्षेत्रमा तस्करीका लागि लैजान लागिएको आशङ्का गरिएको छ। पक्राउ परेका दुवै नेपालीलाई भारतीय प्रहरीले हिरासतमा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कानुनी कारबाही र थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।










