काठमाडौं –

रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ।

थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार हालसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ भने उद्धार कार्य जारी रहेको छ।
लु १ ज ४१६७ नम्बरको बोलेरो जिप वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुन जाने यात्रु बोकेर जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

यसैबीच, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले रुकुमपूर्वबाट रोल्पाको थवाङ–१ जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जना नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन्। मृतकमध्ये अधिकांश रुकुमपूर्वको सिस्ने–५ टाकुराका बासिन्दा रहेको उल्लेख गर्दै उनले सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

साथै उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रचण्डले घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्। साथै सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।

यस्ता घटनाको पुनरावृत्ति हुन नदिन आवश्यक सुरक्षा उपाय सुदृढ गर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन्।