काठमाडौं –
दक्षिण अफ्रिकामा दुर्लभ हान्टाभाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा बसेका छन् । अर्जेन्टिनाबाट क्यानरी टापुतर्फ जाँदै गरेको ‘होन्डियस’ क्रुज जहाजमा देखिएको संक्रमणका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ भने सात जना बिरामी परेका छन् ।
१४७ यात्रु तथा चालक दल सदस्य बोकेको उक्त जहाज हाल केप भर्ड नजिक क्वारेन्टाइनमा राखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) र युरोपेली संघको अनुरोधमा स्पेनले जहाजलाई क्यानरी टापुमा ल्याएर व्यवस्थापन गर्ने जनाएको छ।
संक्रमितमध्ये एक जनाको जोहानेसबर्गस्थित ओआर टाम्बो अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्दा मृत्यु भएको थियो भने एक बेलायती नागरिकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । चिकित्सकहरूका अनुसार यो भाइरसले फोक्सोमा असर पार्दै ‘लिकी क्यापिलरी’ अवस्था सिर्जना गर्ने भएकाले श्वासप्रश्वासमा गम्भीर समस्या उत्पन्न हुन्छ ।
हान्टाभाइरस सामान्यतः संक्रमित मुसा वा अन्य कृन्तक जनावरको फोहोरसँग सम्पर्कमा आउँदा सर्ने दुर्लभ तर खतरनाक संक्रमण हो । विशेषज्ञहरूले यसले मानिसबाट मानिसमा सजिलै सर्ने सम्भावना कम रहेको बताएका छन् ।
दक्षिण अफ्रिकी स्वास्थ्य मन्त्री आरोन मोट्सोअलेदीले सम्भावित संक्रमितहरूसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) भइरहेको जानकारी दिएका छन् । यसका लागि विश्व स्वास्थ्य संगठनसँग सहकार्य भइरहेको छ ।
अधिकारीहरूले जनतालाई अनावश्यक त्रास नमान्न आग्रह गर्दै सावधानी अपनाउन भने आग्रह गरेका छन् ।











