२०८३ बैशाख २८ गते, सोमबार १४:३७

पोखरिया अस्पतालमा एक्स–रे र ल्याब सेवा ठप्प हुँदा विरामी मारमा

वीरगन्ज-

बिरामीको उपचार गर्न स्थापना गरिएको ५० शैयाको प्रादेशिक अस्पताल पोखरिया अहिले आफैं बिरामीजस्तै बनेको छ । अस्पताल व्यवस्थापनको कुशासन र मधेस प्रदेश सरकारको गैरजिम्मेवारीका कारण पोखरिया अस्पताल समाधानको केन्द्र बन्नुको सट्टा समस्या बनेर देखा पर्न थालेको छ ।

अस्पतालमा रहेका उपचार उपकरण महिनौँदेखि बिग्रिएर सेवा प्रवाह अवरुद्ध हुँदा यसको मार सर्वसाधारणले खेपिरहेका छन् । तर देखिएका समस्याको समाधानतर्फ सरोकारवाला निकायले कुनै चासो दिएका छैनन् ।

अस्पतालमा रहेको एक्स–रे मेसिन विगत तीन महिनादेखि बिग्रिएको छ भने प्याथोलोजी ल्याबका मेसिन दुई महिनादेखि बन्द छन् । जसका कारण उपचारका लागि आउने बिरामी महँगो शुल्क तिरेर निजी क्षेत्रबाट सेवा लिन बाध्य भएका छन् ।

पर्सा जिल्लाको मध्यभागमा रहेको पोखरिया अस्पतालमा छिमेकी सात पालिकाबाट दैनिक ३ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । छिपहरमाई गाउँपालिका, धोबिनी गाउँपालिका, कालिकामाई गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, पकाहामैनपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकाका बासिन्दाको उपचारको मुख्य केन्द्र नै पोखरिया अस्पताल हो ।

एक्स–रे मेसिन सञ्चालनमा नहुँदा महँगो शुल्क तिरेर बाहिरबाट सेवा लिनुपरेको पोखरिया नगरपालिका–८ निवासी फिरोज मियाँले गुनासो गर्नुभयो । एक साताअघि मोटरसाइकल दुर्घटनामा परी दाहिने काँधमा चोट लागेपछि उपचारका लागि अस्पताल आउँदा चिकित्सकले एक्स–रे गर्न सुझाव दिए पनि अस्पतालमा सेवा बन्द भएकाले निजी एक्स–रे सेन्टरमा जानुपरेको उहाँले बताउनुभयो ।

“हामीले गराएको स्वास्थ्य बीमाको खासै फाइदा भएको छैन,” मियाँले भन्नुभयो, “विगत ६ महिनादेखि न त यहाँ औषधि पाइन्छ, न एक्स–रे र ल्याब सेवा नै । स्वास्थ्य बीमा गराएर ठगिएको महसुस भइरहेको छ ।”

उहाँले चिकित्सकले लेखेको औषधि निश्चित पसलबाटै किन्न दबाब दिने गरेको आरोपसमेत लगाउनुभयो । “उक्त पसलबाट औषधि नकिने चिकित्सकले कराउनेदेखि उपचार नगर्ने चेतावनी दिने गरेका छन्,” उहाँले भन्नुभयो ।

लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुखिन शमानीका अनुसार पोखरिया अस्पताल अहिले आफैं बिरामी बनेकाले सर्वसाधारणले सहज उपचार सेवा पाउन सकेका छैनन् ।

उहाँले अस्पतालमा एक्स–रे, प्याथोलोजी ल्याबदेखि निःशुल्क औषधि वितरणसम्ममा गम्भीर समस्या रहेको बताउनुभयो । “महिनौँदेखि समस्या हुँदासमेत न स्थानीय तहले पहल गरेको छ, न प्रदेश सरकारले चासो दिएको छ,” उहाँले भन्नुभयो ।

शमानीका अनुसार पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल घोषणा गरेपछि पूर्वाधार निर्माणलगायतका शीर्षकमा मधेस प्रदेश सरकारले गत वर्ष ४ करोड रुपैयाँ पठाएको थियो । तर पोखरिया नगरपालिकाको कमजोरीका कारण त्यसमध्ये ३ करोड रुपैयाँ फ्रिज भएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा जनशक्ति, पूर्वाधार र उपकरणको ठूलो अभाव भए पनि प्रदेश सरकारले चासो नदिँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको उहाँको भनाइ छ ।

अस्पतालमा देखिएका समस्याबारे पोखरिया प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। आनन्द रौनियारसँग बुझ्दा उहाँले आर्थिक अभावका कारण बिग्रिएका एक्स–रे तथा ल्याबका मेसिन मर्मत गर्न नसकिएको बताउनुभयो ।

“अस्पतालका उपकरण मर्मत गर्न लाखौँ रुपैयाँ लाग्ने अवस्था छ, तर अस्पतालसँग अहिले आर्थिक स्रोत छैन,” उहाँले भन्नुभयो ।
डा। रौनियारका अनुसार एक्स–रे मेसिन मर्मतका लागि करिब ७ लाख रुपैयाँ र ल्याब मेसिन मर्मतका लागि २ लाख रुपैयाँ आवश्यक पर्ने जानकारी मधेस प्रदेश सरकारलाई गराइसकिएको छ । तर हालसम्म रकम नआएकाले मर्मत कार्य अघि बढ्न सकेको छैन ।

उहाँले स्वास्थ्य बीमा बोर्डले विगतको करिब २० लाख रुपैयाँ बक्यौता रकम नदिँदा औषधि खरिद गर्न समस्या भएको र त्यसकै कारण बीमित नागरिकलाई सेवा दिन कठिनाइ भइरहेको बताउनुभयो ।

“अस्पतालका केही कर्मचारी र चिकित्सकले विगत पाँच महिनादेखि तलब नपाए पनि सेवा दिइरहेका छन्,” डा। रौनियारले भन्नुभयो, “अस्पतालको अवस्था बारे स्वास्थ्य मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा पनि कुनै सुनुवाइ भएको छैन ।”

अस्पतालमा देखिएको जनशक्ति तथा आर्थिक अभाव चाँडै समाधान गर्न स्थानीयवासीले प्रदेश सरकारसँग माग गरेका छन् । ग्रामीण भेगका नागरिकको उपचारको मुख्य केन्द्र बनेको पोखरिया अस्पताल नियमित र प्रभावकारी रूपमा सञ्चालन भए सर्वसाधारणको समय र खर्च दुवै बच्ने भएकाले समस्याको तत्काल समाधान गर्न उनीहरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस