वीरगन्ज-
शुल्क नतिरेको भन्दै छात्रालाई कक्षाकोठाबाट निकालेर अपमान गरिएको घटनाले आलोचना खेपेको गौतम माध्यमिक विद्यालय ले अन्ततः आफ्नो गल्ती स्वीकार गर्दै अभिभावकसँग क्षमायाचना गरेको छ ।
विद्यालयले कक्षा १० र ८ मा अध्ययनरत छात्राहरूलाई गत वैशाख २१ गते शुल्क नबुझाएको कारण कक्षाबाट निकाल्दै मानसिक यातना दिएको समाचार सार्वजनिक भएपछि घटना व्यापक चर्चामा आएको थियो । त्यसपछि बढ्दो दबाबबीच विद्यालय प्रशासनले गल्ती सच्याउने प्रयासस्वरूप अभिभावकसँग सहमति गर्दै खेद प्रकट गरेको हो ।
वीरगन्ज महानगरपालिका वडा नं. १२का वडाध्यक्ष सुरेश प्रसाद गुप्ता को अगुवाइमा आज बसेको बैठकमा विद्यालय प्रशासन र पीडित छात्राका अभिभावकबीच सहमति भएको छ । सहमतिपत्रमा विद्यालय प्रशासनले घटनाप्रति दुःख व्यक्त गर्दै भविष्यमा यस्ता गतिविधि पुनः नदोहो¥याउने प्रतिबद्धता जनाएको उल्लेख छ ।
सहमतिमा छात्राका अभिभावक दिनेश गुप्ता तथा विद्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । साथै, पिन्टु रौनियार, सन्तोष पटेल, ललित कर्ण र रमेश कुमार शर्मा साक्षीका रूपमा सहभागी भएका थिए ।
घटनापछि विद्यालयको व्यवहारप्रति स्थानीयस्तरमा तीव्र असन्तोष देखिएको थियो । अभिभावक र शिक्षा सरोकारवालाले शुल्कका नाममा विद्यार्थीमाथि अपमानजनक व्यवहार नगर्न विद्यालय प्रशासनलाई चेतावनी दिएका छन् ।












