सप्तरी- सेवाग्राहीसँग घुस लिँदै रंगेहात पक्राउ परेका नेपाल विद्युत् प्राधिकरणका एक कार्यालय प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले नेपाल विद्युत् प्राधिकरण सप्तरी अन्तर्गत कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध मुद्दा अघि बढाएको हो ।
केही दिनअघि चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर जडान गरी विद्युत् लाइन उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले दासलाई नियन्त्रणमा लिएको थियो । योजनाअनुसारको कार्य मिलाइदिने नाममा रकम माग्दै लिँदै गर्दा उनी रंगेहात समातिएका थिए ।
अनुसन्धानपछि अख्तियारले सोही रकम बराबरको बिगो कायम गर्दै दासविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही र सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
घटनाले सरकारी सेवा प्रवाहमै जिम्मेवार तहबाट हुने अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ ।













