वीरगन्ज –
पुस्तक, पोशाक लगायतका शैक्षिक सामग्रीको खरिद–बिक्रीमा अभिभावकलाई ठगी गरे कडा कारबाही गरिने भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले चेतावनी दिएको छ।
प्रशासनले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै तोकिएको स्थानबाट मात्र शैक्षिक सामग्री खरिद गर्न विद्यालयहरूले अभिभावकलाई दबाब दिने गरेको गुनासो आएको उल्लेख गरेको छ। यस्तो प्रकृतिको कार्य गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको हो।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यालयहरूले पाठ्यपुस्तक तथा पोशाक अनिवार्य रूपमा निश्चित पसल वा आपूर्तिकर्ताबाट मात्र खरिद गर्न दबाब दिने, मूल्यमा मनपरी गर्ने तथा अभिभावकमाथि अनावश्यक आर्थिक भार थोपर्ने गुनासो कार्यालयमा प्राप्त भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा यस्ता गतिविधि उपभोक्ता अधिकार, प्रतिस्पर्धा नीति तथा सार्वजनिक शिक्षाको मर्मविपरीत रहेको भन्दै तत्काल रोक्न आग्रह गरिएको छ। साथै कुनै पनि विद्यालय वा सम्बन्धित पसलले यस्तो कार्य जारी राखेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले अभिभावकलाई पनि यस्ता अनियमितता देखिएमा उजुरी दिन आग्रह गरेको छ। साथै विद्यालय प्रशासनलाई पारदर्शी खरिद प्रक्रिया अपनाउन तथा विद्यार्थी र अभिभावकमाथि अनावश्यक आर्थिक भार नपार्न निर्देशन दिइएको छ।
स्थानीय तहमा पछिल्लो समय विद्यालय–पसलको मिलेमतोमा “कमिसन–आधारित बिक्री प्रणाली” र बाध्यात्मक खरिदको गुनासो बढ्दै गएको छ। प्रशासनको यो कदमपछि शिक्षा क्षेत्रमा हुने सम्भावित मनोमानी नियन्त्रण हुने अपेक्षा गरिएको छ भने अभिभावकहरूले समेत राहत महसुस गर्ने विश्वास लिइएको छ।












