२०८३ बैशाख ३० गते, बुधबार ११:२३

अवैध कन्सल्टेन्सी ३ दिनभित्र बन्द गर्न प्रशासनको आदेश

हेटौँडा

मकवानपुरमा बिना अनुमति सञ्चालन भइरहेका कन्सल्टेन्सी, भाषा कक्षा तथा शैक्षिक परामर्श केन्द्रमाथि जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको छ। प्रशासनले यस्ता अवैध संस्थालाई तीन दिनभित्र सम्पूर्ण गतिविधि बन्द गर्न अल्टिमेटम दिएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायबाट अनुमति नलिई सञ्चालन भइरहेका शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण केन्द्रहरू गैरकानुनी भएको स्पष्ट पारेको छ। प्रशासनले यस्ता संस्थालाई तत्काल शैक्षिक तथा प्रशासनिक गतिविधि रोक्न निर्देशन दिएको हो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार अनुमति प्राप्त संस्थाहरूको विवरण प्रशासनसँग भए पनि केही संस्था कानुनविपरीत सञ्चालन भइरहेको गुनासो आएपछि निगरानी बढाइएको हो। उनले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अवैध रूपमा सञ्चालित सबै शैक्षिक तथा परामर्श संस्थाले सेवा बन्द गर्नुपर्ने बताए।

प्रशासनले तोकिएको समयसीमाभित्र निर्देशनको पालना नगरे कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ। यस कदमपछि मकवानपुरका अवैध कन्सल्टेन्सी तथा भाषा केन्द्रहरूमा त्रास बढेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस