रौतहट –
रौतहटको कटहरिया बजार क्षेत्रबाट एकैसाथ तीन जना बालक बेपत्ता भएपछि स्थानीयवासी त्रसित बनेका छन् । एउटै विद्यालय र एउटै कक्षामा अध्ययनरत ती विद्यार्थीहरू अचानक सम्पर्कविहीन भएपछि परिवारजन चिन्तामा डुबेका छन् भने प्रहरीले व्यापक खोजी अभियान सुरु गरेको छ ।
बेपत्ता हुनेहरूमा कटहरिया–५ निवासी सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, सुरेन्द्र साह सोनारका १४ वर्षीय छोरा कुन्दन साह सोनार तथा भरत दास सरभंगका १२ वर्षीय छोरा पवन कुमार दास सरभंग रहेका छन् । उनीहरू गत सोमबार (वैशाख २८) देखि परिवारको सम्पर्कमा छैनन् ।
परिवारका अनुसार विद्यालयबाट घर फर्किएपछि तीनै जना “बाहिर खेल्न जान्छौं” भन्दै घरबाट निस्किएका थिए । तर साँझ अबेरसम्म पनि घर नफर्किएपछि आफन्त र स्थानीयले सम्भावित सबै ठाउँमा खोजी गरेका थिए । कतै फेला नपरेपछि अभिभावकहरूले इलाका प्रहरी कार्यालय कटहरियामा निवेदन दिएका हुन् ।
परिवार स्रोतका अनुसार बेपत्ता बालकमध्ये सकील अन्सारीसँग केही नगद रकम रहेको र साथीहरूसँगको कुराकानीबाट उनीहरू भारतको दिल्ली जाने योजना बनाइरहेको संकेत भेटिएको बताइएको छ । यद्यपि, प्रहरीले यसबारे औपचारिक पुष्टि गरिसकेको छैन ।
इलाका प्रहरी कार्यालय कटहरियाका सई मोहन आले मगरले तीनै बालकको तस्बिर र हुलियासहितको विवरण विभिन्न सुरक्षा निकायमा पठाइसकिएको जानकारी दिएका छन् । सीमावर्ती क्षेत्र भएकाले भारतीय प्रहरीसँग समेत समन्वय प्रक्रिया अघि बढाइएको उनले बताए ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । बालकहरू घरबाट भागेका हुन्, अपहरणमा परेका हुन् वा अन्य कुनै कारणले हराएका हुन् भन्ने विषयमा हालसम्म स्पष्ट निष्कर्ष ननिस्किएको प्रहरीको भनाइ छ ।
प्रहरीले कसैले ती बालकहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १०० मा तुरुन्त जानकारी दिन आग्रह गरेको छ ।












