२०८३ बैशाख ३० गते, बुधबार १९:३९

प्रतिनिधि सभा बैठक भोलि बस्ने, प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर हुने

काठमाडौँ-

विपक्षी दलहरूको निरन्तरको अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि (वैशाख ३१ गते) सम्मका लागि स्थगित गरिएको छ। आज तीन पटकसम्म बसेको बैठकमा विपक्षीहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने माग राख्दै अवरोध सिर्जना गरेपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभएको हो।

प्रधानमन्त्रीसँग प्रश्नोत्तरको तयारी

सभामुख अर्यालले भोलि बिहीबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर हुने जानकारी दिनुभएको छ। बैठकमा आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रस्तुत गर्ने, छलफल गर्ने र प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको छ।

सभामुख अर्यालले बैठकमा भन्नुभयो, “सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तुत गर्न र छलफलमा भाग लिनका लागि प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८३ साल वैशाख ३१ गतेको समय तोकिएको जानकारी गराउँछु।”

विपक्षीको अडान

सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान विपक्षी दलहरूले राख्दै आएका छन्। सोही माग सम्बोधन नभएको भन्दै आजको बैठक अघि बढ्न नसकेपछि सभामुखले भोलिका लागि प्रधानमन्त्रीको उपस्थितिसहितको समय निर्धारण गर्नुभएको हो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस