२०८३ बैशाख ३१ गते, बिहीबार १५:१३

चाँदी पुल नजिक युवकको रहस्यमय मृत्यु, टाउकोमा गहिरो चोट

रौतहट –

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-५ स्थित चाँदी पुल नजिक बिहीबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । सडक छेउमै रक्ताम्मे अवस्थामा शव भेटिएपछि स्थानीय क्षेत्रमा त्रास र कौतुहल फैलिएको छ ।

प्रहरीका अनुसार मृतक माधव नारायण नगरपालिका-१ दिपही निवासी २४ वर्षीय रंजय कुमार यादव हुन् । बिहान करिब साढे ६ बजे स्थानीयवासीले सडक किनारमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा युवकलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पठाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णु प्रदीप बस्यालका अनुसार घटनालाई प्रहरीले शंकास्पद रूपमा अनुसन्धान गरिरहेको छ । मृतकको टाउकोमा गहिरो चोट देखिएकाले सवारी दुर्घटना, कुटपिट वा अन्य आपराधिक घटनामध्ये कुन कारणले मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको उनले बताए ।

प्रहरीले घटनास्थल आसपासका व्यक्तिसँग सोधपुछ गर्नुका साथै त्यस क्षेत्रका गतिविधिबारे विस्तृत अनुसन्धान थालेको जनाएको छ । घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि थप खुल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस