२०८३ असार २१ गते, आईतवार ०१:५०

कृषि बन्यो ‘सुपर मन्त्रालय’, विज्ञान मन्त्रालय सबैभन्दा कमजोर

काठमाडौँ –

सरकारले “नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३” स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या १८ मा सीमित गरेसँगै मन्त्रालयगत शक्तिसन्तुलनमा ठूलो फेरबदल गरेको छ । नयाँ संरचनाअनुसार कृषि, वन तथा पर्यावरण मन्त्रालय सबैभन्दा शक्तिशाली र व्यापक जिम्मेवारी बोकेको मन्त्रालयका रूपमा उदाएको छ भने विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सबैभन्दा कमजोर अवस्थामा पुगेको देखिएको छ ।

नयाँ कार्यविभाजनअनुसार कृषि मन्त्रालयलाई एकैपटक ६२ वटा कार्यक्षेत्रको जिम्मेवारी दिइएको छ । कृषि, वन, वातावरण, जलवायु परिवर्तन, जैविक विविधता, खाद्य सुरक्षा, मौसम विज्ञानदेखि कार्बन व्यापारसम्मका विषय एउटै मन्त्रालयमा खुम्च्याइएका छन् । यसले कृषि मन्त्रालयलाई सरकारकै ‘सुपर मन्त्रालय’ बनाएको टिप्पणी प्रशासनिक वृत्तमा हुन थालेको छ ।

गृह मन्त्रालय दोस्रो ठूलो जिम्मेवारी बोकेको मन्त्रालय बनेको छ । गृहलाई ५२ वटा कार्यक्षेत्र दिइएको छ, जसअन्तर्गत शान्ति सुरक्षा, प्रहरी प्रशासन, अध्यागमन, राष्ट्रिय परिचयपत्र, विपद् व्यवस्थापन, निर्वाचन तथा सीमा सुरक्षासम्मका संवेदनशील विषय समेटिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि असाधारण शक्तिसहित ४८ वटा कार्यक्षेत्र दिइएको छ । प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शासन र सुशासनसम्बन्धी काम राखिएपछि सिंहदरबारको शक्ति अझै केन्द्रित भएको विश्लेषण हुन थालेको छ ।

अर्थ मन्त्रालयलाई ४६, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ४५, भूमि, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ४५ तथा पूर्वाधार विकास मन्त्रालयलाई ३८ वटा कार्यक्षेत्र तोकिएको छ ।

तर सबैभन्दा चासोको विषय बनेको छ। विज्ञान मन्त्रालयको अवस्था । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई जम्मा १७ वटा कार्यक्षेत्र मात्रै दिइएको छ । अनुसन्धान, अन्तरिक्ष विज्ञान, आणविक प्रविधि र नवप्रवर्तनजस्ता भविष्यसँग जोडिएका क्षेत्र समेटिए पनि मन्त्रालयलाई सीमित भूमिकामै राखिएको भन्दै प्रश्न उठ्न थालेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय पनि १७ कार्यक्षेत्रमै सीमित गरिएको छ ।

सरकारले समान प्रकृतिका मन्त्रालय गाभेर प्रशासनिक खर्च घटाउने र संरचना चुस्त बनाउने दाबी गरेको छ । सोहीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग गाभिएको छ । स्वास्थ्य मन्त्रालयमा खाद्य सुरक्षासम्बन्धी जिम्मेवारीसमेत थपिएको छ ।

तर मन्त्रालय गाभ्ने सरकारी निर्णयमाथि प्रशासनिक वृत्तमै प्रश्न उठ्न थालेको छ । फरक प्रकृतिका मन्त्रालयहरूलाई जबर्जस्ती एउटै संरचनामा मिसाउँदा कार्यसम्पादन झन् जटिल बन्न सक्ने टिप्पणी हुन थालेको छ । विशेषगरी भूमि, सहकारी र संघीय मामिलाजस्ता फरक विषय एउटै मन्त्रालयमा राखिँदा प्रभावकारितामाथि शंका व्यक्त गरिएको छ ।

यसैबीच श्रम सहचारी र महावाणिज्यदूतको कार्यक्षेत्र परराष्ट्र मन्त्रालयअन्तर्गत सीमित गरिएको व्यवस्थाले कर्मचारी वृत्तमा थप असन्तुष्टि चुलिएको छ । यसअघि विषयगत अनुभव र दक्षताका आधारमा अन्य मन्त्रालयका कर्मचारीलाई समेत विदेशस्थित नियोगमा पठाउने अभ्यास रहेकामा अब परराष्ट्र सेवाभित्रै सीमित गर्न खोजिएको भन्दै कर्मचारीबीच असन्तोष बढ्न थालेको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस