२०८३ जेष्ठ ४ गते, सोमबार १४:२८

शुक्रबार विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

जनकपुर-

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार जनमत पार्टी ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन बाध्य भएका हुन् ।

गत वैशाख २२ गते जनमत पार्टीका संसदीय दलका नेता चन्दन सिंह ले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएका थिए । त्यसयता प्रदेश सरकारको भविष्यलाई लिएर राजनीतिक अन्योल बढ्दै गएको थियो ।

यसअघि पनि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेका थिए । जेठ १ गतेका लागि कार्यसूची तय भए पनि अन्तिम समयमा कार्यसूची परिवर्तन गरिएपछि प्रदेश राजनीतिमा विवाद चुलिएको थियो । विशेषगरी नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद र जसपा नेपाल को अनिर्णयका कारण विश्वासको मत प्रक्रिया रोकिएको बताइएको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकपछि कांग्रेसभित्र सहमति बनेको र जसपा नेपाल पनि सरकारप्रति सकारात्मक देखिएपछि शुक्रबारका लागि विश्वासको मत लिने तयारी अघि बढाइएको हो ।

यद्यपि, मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले सरकारबाट समर्थन र सहभागिता दुवै फिर्ता लिने निर्णय गरिसकेको छ । पार्टीले आफ्ना मन्त्रीहरूलाई सरकारबाट बाहिरिन निर्देशन दिए पनि सरकारमा रहेका दुई मन्त्रीले अझै राजीनामा दिएका छैनन् । अघिल्लो पटक विश्वासको मत लिने दिन एक मन्त्री अनुपस्थित भएका थिए भने अर्का मन्त्री विपक्षी बेञ्चमा बसेका थिए ।

प्रदेश सरकारलाई विश्वासको मत प्राप्त गर्न प्रदेश सभामा कम्तीमा ५२ जना सांसदको समर्थन आवश्यक पर्नेछ । प्रमुख प्रतिपक्षी नेकपा एमाले भने वर्तमान सरकारप्रति सकारात्मक रहेको जनाइएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस