२०८३ जेष्ठ ४ गते, सोमबार १५:३२

सर्वोच्चमा हलचल : रोकिएका सबै रिट तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको कडा आदेश

काठमाडौं-

सपना प्रधान मल्ल ले सर्वोच्च अदालतमा रोकिएका रिट तथा निवेदनहरू तत्काल दर्ता गर्न कडा निर्देशन दिएकी छन् । कानुन व्यवसायीहरूले रिट दर्तामा अवरोध गरिएको गुनासो गरेपछि कामु प्रधानन्यायाधीश मल्लले हस्तक्षेप गर्दै यस्तो आदेश जारी गरेकी हुन् ।

उनले कानुनअनुसार दर्ताका लागि आएका सबै रिट निवेदन तथा दरपीठ आदेशविरुद्धका निवेदनहरू आजै दिउँसो १ बजेसम्म दर्ता गर्न र भोलि जेठ ५ गते मंगलबारका लागि तारेख तोकी पेशीमा चढाउन आदेश दिएकी छन् ।

सर्वोच्च अदालतमा पछिल्ला दिनहरूमा रिट दर्ता प्रक्रियालाई लिएर विवाद चर्किएको थियो । विशेषगरी डा. मनोज कुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको विषयविरुद्ध कानुन व्यवसायीहरूले दायर गर्न खोजेको रिट अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । त्यसविरुद्ध पुनः रिट दायर गर्न खोज्दा पनि मुख्य रजिष्ट्रारले अस्वीकार गरेको भन्दै कानुन व्यवसायीहरूले तीव्र असन्तुष्टि जनाएका थिए ।

सोही विषयलाई लिएर केही कानुन व्यवसायीहरूले आइतबार कामु प्रधानन्यायाधीश मल्ललाई भेटेरै गुनासो राखेका थिए । त्यसपछि मल्लले तत्काल लिखित आदेश जारी गर्दै अदालतमा दर्ता हुन आएका निवेदन रोक्नु न्यायप्राप्तिको बाटो अवरुद्ध गर्ने कार्य भएको उल्लेख गरेकी छन् ।

आदेशमा उनले भनेकी छन्, “कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटोमा अवरोध सिर्जना गर्नुका साथै अदालतप्रतिको जनआस्थामा अविश्वास बढाउने व्यवहार हो ।”

कामु प्रधानन्यायाधीश मल्लले न्यायाधीशहरू समक्ष मुख्य रजिष्ट्रारको ध्यानाकर्षण गराउँदा प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश डा. मनोज कुमार शर्मा कै निर्देशनका कारण रिट दर्ता नगरिएको जानकारी गराइएको पनि आदेशमा उल्लेख गरेकी छन् ।

उनले नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७ अनुसार प्रधानन्यायाधीशको हैसियतले आवश्यक निर्देशन दिनुपर्ने अवस्था आएको स्पष्ट पारेकी छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस