बारा –
बाराको सदरमुकाम कलैयामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबीचको विवादले उग्र रूप लिँदा जिल्ला प्रहरी कार्यालय अगाडिको क्षेत्र सोमबार केही समय तनावग्रस्त बनेको छ। प्रदर्शन सडकमै अर्धनग्न अवस्थासम्म पुगेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको हो।
विवादको सुरुवात एक जना किन्नरलाई प्रहरीले नियन्त्रणमा लिएपछि भएको हो। शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा गरिएको उक्त पक्राउको विरोधमा समुदायका अन्य सदस्यहरूले तत्काल रिहाइको माग गर्दै प्रदर्शन सुरु गरेका थिए।
आफ्नो साथीलाई बिनासर्त छोड्नुपर्ने मागसहित प्रदर्शनकारीहरू ठूलो संख्यामा जिल्ला प्रहरी कार्यालय बाराको गेट अगाडि भेला भएका थिए। प्रदर्शनका क्रममा उनीहरूले चर्को नाराबाजी गर्दै सडकमै अर्धनग्न प्रदर्शन सुरु गरेपछि अवस्था झन् संवेदनशील बनेको थियो।
यस क्रममा प्रदर्शनकारीहरूको भीडले प्रहरी कार्यालयको परिसरभित्र प्रवेश गर्न खोजेपछि सुरक्षा स्थिति थप बिग्रिएको प्रहरीले जनाएको छ। निषेधित क्षेत्र पार नगर्न पटक–पटक चेतावनी दिइए पनि भीड अगाडि बढ्न खोजेपछि नियन्त्रण बाहिर जाने जोखिम बढेको थियो।
त्यसपछि प्रहरीले भीड तितरबितर पार्न लाठीचार्ज गरेको हो। लाठीचार्जका क्रममा केही प्रदर्शनकारी सामान्य घाइते भएको बताइएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। हाल स्थिति नियन्त्रणमा रहेको र जनजीवन क्रमशः सामान्य बन्दै गएको बारा प्रहरीले जनाएको छ।











