काठमाडौँ–
नेपालका प्रमुख अस्पतालहरूमा क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने अत्यावश्यक औषधिको गम्भीर अभाव देखिएको छ। क्यान्सरको मुख्य उपचार पद्धति ‘किमोथेरापी’ मा अनिवार्य मानिने औषधिहरूको अभाव भएपछि देशभरका हजारौँ बिरामीको उपचार प्रभावित भएको छ।
भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल (टीयूएच) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका ठुला स्वास्थ्य संस्थाहरूमा किमोथेरापी गर्दा मिसाउनै पर्ने कार्वोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिन औषधिको हाहाकार भएको हो।
उपचार प्रभावकारी नहुने चिकित्सकको चिन्ता .
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेका अनुसार अस्पतालमा यी तीनै प्रकारका औषधि सकिएको दुई हप्ताभन्दा बढी भइसकेको छ। “क्यान्सरको किमोथेरापी दिँदा कम्तीमा यी तीनमध्ये एउटा औषधि मिसाउनै पर्छ, तर अहिले यो समूहको कुनै पनि औषधि उपलब्ध छैन,” डा. चालिसेले भन्नुभयो, “यी औषधिको अभावमा पनि हामीले जेनतेन उपचार त गरिरहेका छौँ, तर त्यो प्रभावकारी हुँदैन। बिरामीको क्यान्सर निको नहुने जोखिम बढेको छ।” उक्त अस्पतालमा मात्रै दैनिक ७० जना बिरामीलाई यी औषधिको आवश्यकता पर्ने गर्दछ।
यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा विगत दुई महिनादेखि कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको मौज्दात शून्य छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उत्तम नेपालले दैनिक २०० जना किमोथेरापीका बिरामी आउने गरेकोमा अस्पतालले औषधि उपलब्ध गराउन नसकेको स्वीकार गर्नुभयो। बिरामीहरू बजार मूल्य रु २०० देखि २,००० सम्म पर्ने यी औषधि भारत वा बाहिरका बजारबाट चर्को मूल्य तिरेर किन्न बाध्य छन्।
किन भयो त अभाव ?
औषधि अभाव हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नु र नेपाल सरकारले पुरानै मूल्यमा आयात गर्न जोड दिनु रहेको खुलेको छ।
नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले सरकारले वि.सं. २०७२ सालमा राजपत्रमा प्रकाशित गरेर तोकेको मूल्यमा अहिले औषधि आयात गरेर बिक्री गर्न नसकिने बताउनुभयो। “अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिसक्यो, हामीले पुरानै मूल्यमा दिन सक्दैनौँ भनेर सरकारलाई पहिले नै भनेका थियौँ,” अध्यक्ष आचार्यले भन्नुभयो, “सरकारले समयमै मूल्य समायोजन नगर्दा अहिले यो संकट आएको हो।”
औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले राजपत्रमा प्रकाशित भइसकेको मूल्य तत्काल संशोधन गर्न कानुनी जटिलता रहेको बताउनुभयो। यद्यपि, बिरामीको संवेदनशीलतालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय गरी मध्यमार्गी समाधान निकालेर चाँडै औषधि नेपाल भित्र्याउने तयारी भइरहेको उहाँले दाबी गर्नुभयो।
अस्पतालहरूले तत्कालको संकट टार्न विश्व स्वास्थ्य सङ्गठन (WHO) सँग समेत औषधिका लागि आग्रह गरेका छन्। सरकारी सुस्ती र नीतिगत झमेलाका कारण अस्पताल पुगेका क्यान्सरका गम्भीर बिरामीहरू भने दिनहुँ मृत्युसँग लड्न बाध्य भइरहेका छन्।












