२०८३ जेष्ठ १० गते, आईतवार १२:५४

अमेरिका र इरानबीच सम्झौता दाबीमा मतभेद: ट्रम्प भन्छन् युद्ध अन्त्य नजिक, तेहरानले देखायो फरक व्याख्या

काठमाडौं –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायल र इरानबीचको तनाव अन्त्य गर्ने शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। तर अमेरिकी र इरानी पक्षले प्रस्तावित सम्झौताका मुख्य सर्तबारे फरक–फरक व्याख्या गरेका छन्, जसले प्रक्रियामै अन्योल देखाएको छ।

ट्रम्पका अनुसार मध्यपूर्वका विभिन्न देशका नेताहरूसँगको टेलिफोन वार्तापछि सम्झौताका महत्वपूर्ण बुँदाहरू टुंगिन लागेको र छिट्टै औपचारिक घोषणा हुने अवस्था आएको हो। उनले विशेषगरी रणनीतिक रूपमा महत्वपूर्ण मानिने होर्मुज स्ट्रेट पुनः खोल्ने विषय पनि सम्झौतामा समावेश हुने संकेत दिएका छन्।

शनिबार उनले कतार, साउदी अरब, यूएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेताहरूसँग संवाद गरेका थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग पनि उनले छुट्टै छलफल गरेका थिए।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, “सम्झौताका अन्तिम पक्षहरूबारे छलफल भइरहेको छ, र यसलाई छिट्टै सार्वजनिक गरिनेछ।”

तर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले वार्ता सहज बनाउन आफ्नो देशले भूमिका खेलिरहेको बताउँदै अमेरिका–इरान संवादको आतिथ्यता गर्न इच्छुक रहेको संकेत दिएका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि प्रगतिप्रति सकारात्मक प्रतिक्रिया दिँदै होर्मुज स्ट्रेटमा स्वतन्त्र आवतजावत सहज हुने अपेक्षा व्यक्त गरेका छन्।

इजिप्टले भने सबै पक्षलाई कूटनीतिक अवसर उपयोग गरी सम्झौतामा पुग्न आग्रह गरेको छ।

अमेरिका र इरानको फरक–फरक दाबी

सम्झौताबारे सबैभन्दा ठूलो विवाद यसको वास्तविक सर्तहरूमा देखिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार प्रस्तावित सम्झौतामा इरानले आफ्नो उच्च संवर्धित युरेनियम भण्डार त्याग्ने प्रतिबद्धता जनाएको छ। तर यो प्रक्रिया कसरी लागू हुने भन्ने विषय आगामी वार्तामा तय गरिने बताइएको छ।

तर इरानी पक्षका उच्च अधिकारीहरूले भने फरक दाबी गरेका छन्। उनीहरूका अनुसार हालको समझदारी पत्रमा इरानको आणविक कार्यक्रमको भविष्यबारे ठोस व्यवस्था नै छैन। बरु सबै संवेदनशील विषयहरू ३० देखि ६० दिनभित्र हुने छुट्टै वार्तामा छलफल हुने बताइएको छ।

इरानी पक्षका अनुसार सम्भावित सम्झौताले युद्ध रोक्ने, होर्मुज स्ट्रेटमा स्वतन्त्र आवागमन सुनिश्चित गर्ने, अमेरिकी नौसैनिक दबाब हटाउने र विदेशमा रोक्का रहेका करिब २५ अर्ब डलर सम्पत्ति फुकुवा गर्ने विषय समेट्न सक्ने संकेत पनि गरिएको छ।

कूटनीति र दबाबबीच ट्रम्पको दोहोरो संकेत

ट्रम्पले पछिल्ला दिनहरूमा कहिले सम्झौता नजिक पुगेको दाबी गर्ने त कहिले कडा चेतावनी दिने दोहोरो शैली अपनाइरहेका छन्। यसअघि उनले युद्धविरामका लागि समय सकिँदै गएको चेतावनी दिएका थिए भने खाडी मुलुकहरूको आग्रहमा मात्र केही सैन्य कदम रोकिएको बताएका थिए।

यता, अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको भनाइ पनि सार्वजनिक भएको छ। त्यसपछि अप्रिल ८ यता ठूला स्तरका घटनाहरू घटेको छैनन्, तर तनाव कायमै छ।

मुख्य विवादित विषयहरूमा इरानको आणविक कार्यक्रम, होर्मुज स्ट्रेटको नियन्त्रण, अमेरिकी सैन्य उपस्थिति र रोक्का सम्पत्तिको भविष्य रहेका छन्।

अमेरिकाभित्रै चासो र विरोध

सम्भावित सम्झौताप्रति अमेरिकाभित्रै पनि बहस सुरु भएको छ। रिपब्लिकन सिनेटर टेड क्रुजले यदि सम्झौताले इरानलाई युरेनियम संवर्धन र रणनीतिक जलमार्गमा प्रभाव कायम राख्न दियो भने त्यो गम्भीर गल्ती हुने चेतावनी दिएका छन्।

उनले ट्रम्प प्रशासनलाई पहिले नै तय गरिएको कडा नीति (रेड लाइन) कायम राख्न आग्रह गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस