२०८३ जेष्ठ १० गते, आईतवार २२:३४

एसपी सुदीपराज पाठक सर्वोत्कृष्ट प्रशंसापत्रद्वारा सम्मानित

वीरगन्ज

जिल्ला प्रहरी कार्यालय पर्सा मधेश प्रदेशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका रूपमा सम्मानित भएको छ। आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन सम्झौता अनुसार तोकिएका सूचकहरूमा सर्वोत्कृष्ट स्थान हासिल गरेपछि पर्सा प्रहरी सम्मानित भएको हो।

शान्ति सुरक्षा अमनचयन, अपराध नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण तथा प्रशासनिक चुस्तता लगायतका सूचकहरूमा उत्कृष्ट कार्य गरेबापत पर्साले मधेश प्रदेशका आठवटै जिल्लाहरूमध्ये पहिलो स्थान प्राप्त गर्न सफल भएको हो।

जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकलाई ‘सर्वोत्कृष्ट’ प्रशंसापत्र प्रदान गर्नुभयो। वार्षिक कार्य सम्झौता अनुसार गत वैशाख महिनामा पर्सा प्रहरीले सम्पादन गरेका कार्यहरूको उच्च मूल्याङ्कन गर्दै सो सम्मान प्रदान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सम्मान ग्रहण गरेपछि गोप्यखबर लाई प्रतिक्रिया दिँदै पर्सा प्रहरी प्रमुख एसपी पाठकले यो सफलता सम्पूर्ण पर्सा प्रहरीको अहोरात्रको खटाइ, उत्कृष्ट टिमवर्क र जिल्लाबासीको निरन्तर सहयोगको परिणाम भएको बताउनुभयो। उहाँले यस सम्मानले आगामी दिनमा अझ बढी जिम्मेवार, पारदर्शी र व्यावसायिक भएर नागरिकको सेवामा समर्पित हुन थप ऊर्जा मिलेको उल्लेख गर्नुभयो।

पछिल्लो समय पर्सा प्रहरीले सीमा सुरक्षामा कडाइ, राजस्व चुहावट नियन्त्रण र सर्वसाधारण अनुकूलको प्रहरी सेवा प्रवाहमा उल्लेख्य सुधार गर्दै आएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस