सर्लाही –
विकास निर्माणका योजनामा अनियमितता भएको विषय प्रदेश सभामा उठाएकी मधेश प्रदेश सभा सदस्य हसिना खातुनमाथि आक्रमण प्रयास भएको आरोप सार्वजनिक भएपछि घटनाको चौतर्फी विरोध भइरहेको छ ।
जनमत पार्टीकी प्रदेश सांसद खातुनले योजना कार्यान्वयन नै नगरी भुक्तानी गरिएको विषय प्रदेश सभाको बैठकमा उठाएकी थिइन् । सोही विषयलाई लिएर ठेक्कासँग सम्बन्धित व्यक्तिहरूले सर्लाहीस्थित आफ्नै घर घेराउ गर्दै धम्की र आक्रमण प्रयास गरेको आरोप उनले लगाएकी छन् ।
घटनापछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक आलोचना भइरहेको छ । जनप्रतिनिधिले सार्वजनिक सरोकारको विषय उठाउँदा धम्की र दबाब दिन खोज्नु लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको भन्दै दोषीमाथि तत्काल कारबाहीको माग गरिएको छ ।
जनमत पार्टीका नेताहरूले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । साथै, काम नै नगरी योजनाको रकम भुक्तानी गरिएको आरोपबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्नुपर्ने आवाज उठेको छ ।
घटनाबारे स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराइएको जनाइएको छ । प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।











