२०८३ जेष्ठ १६ गते, शनिबार १६:४५

पत्रकारिता क्षेत्र राज्यसत्ताको कोपभाजनमा पर्ने खतरा: प्रेस सेन्टर अध्यक्ष गिरी (मगर र यादव पुरस्कृत)

वीरगन्ज

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले नेपाली पत्रकारिता यतिबेला राज्यसत्ताको कोपभाजनमा पर्ने गम्भीर खतरा देखिएको बताउनुभएको छ। जनताको आवाजलाई मुखरित गर्ने र लोकतन्त्रको पहरेदारी गर्ने पत्रकारिता क्षेत्रलाई कमजोर बनाउन सरकारले विभिन्न स्रोतहरूमा नाकाबन्दी गर्ने कुत्सित प्रयास गरिरहेको आरोप उहाँले लगाउनुभएको छ।

प्रेस सेन्टर नेपाल पर्सा शाखाले शनिबार वीरगन्जमा आयोजना गरेको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ तथा ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार २०८३’ वितरण समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष गिरीले उक्त कुरा बताउनुभएको हो।

क्रान्तिकारी पत्रकार एवं सहिद कृष्णसेन इच्छुकको स्मरण गर्दै अध्यक्ष गिरीले गणतन्त्र र नागरिक अधिकारको पक्षमा निर्भीक भई आवाज उठाएकै कारण तत्कालीन सरकारले इच्छुकको हत्या गरेको स्मरण गर्नुभयो। उहाँले आजको बदलिँदो परिस्थितिमा झन् निडर, व्यावसायिक र निष्पक्ष पत्रकारिताको महत्त्व र आवश्यकता बढेर गएको उल्लेख गर्नुभयो।

देशैभरिका सञ्चारमाध्यमहरू चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको अवस्थामा उनीहरूलाई जोगाउने र प्रवर्द्धन गर्ने गरी नीति-नियम बन्नुपर्नेमा, वर्तमान सरकार तानाशाही रूपमा शासन गर्ने उद्देश्यबाट प्रेरित भएर अगाडि बढेको भन्दै अध्यक्ष गिरीले गम्भीर चिन्ता व्यक्त गर्नुभयो।

सञ्चार माध्यम संकुचित पारिए कडा प्रतिवाद हुने चेतावनी

समारोहमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोराब) का वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले नेपाली पत्रकारिता क्षेत्र कमजोर बने सिङ्गो लोकतान्त्रिक प्रणाली नै अप्ठ्यारोमा पर्ने चेतावनी दिनुभयो। नागरिकको अधिकार र सुशासनको पक्षमा निरन्तर वकालत गर्ने सञ्चार माध्यमहरूलाई सरकारले विभिन्न कानुन र नियमावलीका नाममा संकुचित तथा कमजोर बनाउन खोजे सञ्चार जगतले त्यसको कडा प्रतिवाद गर्ने उहाँले स्पष्ट पार्नुभयो।

पत्रकार मगर र यादव पुरस्कृत

प्रेस सेन्टर नेपाल पर्सा शाखाले स्थापना गरेको ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार २०८३’ बाट कारोबार दैनिकका वीरगन्ज संवाददाता निरज पिठाकोटे मगर पुरस्कृत हुनुभएको छ। त्यसैगरी, यस वर्षको ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार’बाट युवा पत्रकार बलिराम यादव पुरस्कृत हुनुभएको छ।

पुरस्कृत दुवै पत्रकारहरूलाई कार्यक्रमका मुख्य अतिथि एवं प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष कमल गिरी, एकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा लगायतका अतिथिहरूले जनही २१ हजार रुपैयाँ नगद राशिसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गर्नुभएको थियो।

समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सुनिता बराल तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा लगायतले पुरस्कृत पत्रकारहरूलाई बधाई ज्ञापन गर्नुभएको थियो। उहाँहरूले श्रमजीवी पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै सङ्गठनहरू एकजुट हुनुपर्नेमा जोड दिँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस