२०८३ जेष्ठ २९ गते, शुक्रबार ११:१२

भवन निर्माण ठेक्कामा भ्रष्टाचार : मधेशमा अनियमितताको अर्को उदाहरण

वीरगन्ज ।

मधेश प्रदेशमा सार्वजनिक निर्माण तथा सरकारी खरिद प्रक्रियामा भ्रष्टाचार र अनियमितताका घटना बढ्दै गएको चर्चा भइरहेका बेला सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माण ठेक्का प्रक्रियामा समेत गम्भीर अनियमितता भएको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सूचना प्रकाशन गरी ठेक्का प्रक्रियामा मिलेमतो गरेको आरोपमा केन्द्रका तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार केन्द्रका तत्कालीन कार्यालय प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा, इन्जिनियर अशोककुमार सिंह, सहायक सब–इन्जिनियर प्रमोदकुमार सिंह, राधाकृष्ण निर्माण सेवा तथा उक्त कम्पनीका प्रबन्धक कौशल्याकुमारी रजकविरुद्ध मुद्दा दर्ता गरिएको छ।

अख्तियारले भवन निर्माणको ठेक्का प्रक्रियामा नियोजित रूपमा मिलेमतो गरी सरकारी स्रोतको दुरुपयोग गरिएको निष्कर्ष निकाल्दै प्रतिवादीहरूबाट जनही १ करोड २६ लाख ९६ हजार २३८ रुपैयाँ ७१ पैसा बिगो असुल गर्न मागदाबी गरेको छ।

मधेश प्रदेशमा पछिल्लो समय सार्वजनिक निर्माण, ठेक्का व्यवस्थापन तथा सरकारी खर्चमा हुने अनियमितताका घटनाहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। सप्तरीको यो प्रकरणले सार्वजनिक खरिद प्रणालीको पारदर्शिता र सरकारी निकायहरूको जवाफदेहितामाथि पुनः गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस