२०८३ जेष्ठ २९ गते, शुक्रबार १३:५०

वीरगन्जको खेलकुद पूर्वाधारमा ठूलो बजेट: नारायणी रङ्गशाला र कभर्डहलका लागि साढे १२ करोड सुनिश्चित

वीरगन्ज

लामो समयदेखि मर्मतसम्भार र स्तरोन्नतिको पर्खाइमा रहेको वीरगन्जको ऐतिहासिक नारायणी रङ्गशाला र खेलकुद संरचनाका लागि ठूलो परिमाणमा बजेट विनियोजन भएको छ। पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले चालू आर्थिक वर्षको बजेटमा वीरगन्जका यी दुई महत्त्वपूर्ण खेलकुद धरोहरका लागि कुल साढे १२ करोड रुपैयाँ बजेट परेको खुसीको खबर सार्वजनिक गर्नुभएको हो।

सांसद पन्तले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत वीरगन्जवासी र खेलप्रेमीहरूलाई सम्बोधन गर्दै बजेट विनियोजनबारे आधिकारिक जानकारी गराउनुभएको छ।

सांसद पन्तले सामाजिक सञ्जालमा लेख्नुभएको छ:

“नारायणी रङ्गशालाको लागि तत्कालको लागि साढे सात करोड र नारायणी बहुउद्देश्यीय कभर्डहलको लागि पाँच करोड गरी जम्मा साढे बाह्र करोडको बजेट परेको जानकारी गराउँदछु।”

जीर्ण बन्दै गएको रङ्गशालाले नयाँ रूप पाउने आशा

नेपालकै दोस्रो ठूलो रङ्गशालाको रूपमा चिनिने नारायणी रङ्गशाला पर्याप्त बजेट र सरकारी उपेक्षाका कारण लामो समयदेखि जीर्ण अवस्थामा रहेको थियो। मैदानको हिलो, भत्किएका प्याराफिट र ओझेलमा परेका खेल गतिविधिले वीरगन्जका खेलाडी र खेलप्रेमीहरूलाई निराश बनाउँदै आएको थियो।

अब तत्कालका लागि विनियोजन भएको साढे ७ करोड रुपैयाँले रङ्गशालाको स्तरोन्नति, मैदान सुधार र आवश्यक पूर्वाधार निर्माणमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ। त्यसैगरी, नारायणी बहुउद्देश्यीय कभर्डहलका लागि परेको ५ करोड रुपैयाँले इन्डोर (भित्र खेलिने) खेलकुदका विधाहरू जस्तै ब्याडमिन्टन, टेबल टेनिस, कराते लगायतका खेलहरूका लागि अत्याधुनिक सुविधासम्पन्न हल निर्माण गर्ने बाटो खुला गरेको छ।

खेलप्रेमी र वीरगन्जवासीमा उत्साह

सांसद पन्तले पहल गरेर वीरगन्जको खेलकुद क्षेत्रका लागि यति ठूलो बजेट भित्र्याएपछि पर्साका खेलाडी, खेल संघ-संगठन र स्थानीय युवाहरूले यसको स्वागत गरेका छन्। वीरगन्जलाई पुनः खेलकुदको ‘हब’ बनाउन यो बजेट कोशेढुङ्गा साबित हुने स्थानीय खेलकुद अभियन्ताहरू बताउँछन्। सामाजिक सञ्जालमा पनि सांसद पन्तको यो पहललाई धेरैले धन्यवाद दिँदै समयमै र पारदर्शी ढङ्गले काम सम्पन्न हुनुपर्ने जोड दिएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस