वीरगन्ज–
देशभर मनसुनी गतिविधि थप सक्रिय भएसँगै आज र भोलि विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएकाले वर्षाको तीव्रता थप बढ्ने मौसमविद्को भनाइ छ ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । ती क्षेत्रमा आगामी केही घण्टासम्म थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज र भोलि मनसुनी गतिविधि अझ सक्रिय हुने क्रममा मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ । साथै यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ ।
तराईमा डुबान र पहाडमा पहिरोको चेतावनी
भारीदेखि धेरै भारी वर्षाका कारण पहाडी क्षेत्रमा भूक्षय र पहिरोको जोखिम बढेको छ भने मधेश प्रदेशका जिल्लाहरू सहित सहरी तथा तराई क्षेत्रहरूमा डुबान हुन सक्ने महाशाखाले चेतावनी दिएको छ ।
ठूला तथा साना नदी, खोला र नालाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन प्रशासन तथा मौसमविद्हरूले अनुरोध गरेका छन् ।












