२०८३ असार २२ गते, सोमबार ११:४६

१०२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगन्ज-

पर्सा जिल्लाको ग्रामीण क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्लाको जगरनाथपुर गाउँपालिका-२, सोनबर्साबाट प्रहरीले गएराति १०२ किलोग्राम गाँजासहित भारतको बिहार राज्य, पश्चिम चम्पारण (बेतिया) अन्तर्गत नवलपुर निवासी ३२ वर्षीय गुड्डु बर्मालाई पक्राउ गरेको हो।

नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०१ सीयू ५४४ नम्बरको सेतो स्पोर्ट्स कारलाई रोकि जाँच गर्ने क्रममा सवारीसाधनभित्र लुकाइ राखिएको १० वटा पोकामा गाँजा बरामद भएपछि चालक बर्मालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार भारतीय नम्बर प्लेटको उक्त सवारीसाधनमा गाँजा लोड गरी सीमापार गराउने तयारी भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी जानकीटोलाको टोली परिचालन गरिएको थियो। सोही क्रममा सवारीसाधन रोकी खानतलासी गर्दा १०२ किलोग्राम गाँजा बरामद गरिएको हो।

पक्राउ परेका भारतीय नागरिक, बरामद गाँजा तथा प्रयोग गरिएको सवारीसाधनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले विभिन्न जिल्लाबाट प्रतिबन्धित लागुऔषध पर्सा हुँदै भारततर्फ ओसारपसार गर्ने गरेका छन्। पछिल्लो समय पर्साका विभिन्न स्थानबाट ठूलो परिमाणमा गाँजा तथा अन्य लागुऔषध निरन्तर बरामद भइरहेका छन्।

प्रहरी स्रोतका अनुसार राष्ट्रिय वन क्षेत्र तथा विभिन्न सडक मार्ग प्रयोग गरी मकवानपुर, चितवन, धादिङलगायत जिल्लाबाट उत्पादन भएका गाँजा, चरेसलगायत प्रतिबन्धित लागुऔषध पर्सामा भित्र्याइने र रातिको समय वा विभिन्न उपाय अपनाएर भारततर्फ तस्करी गरिने गरेको छ। प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र नियन्त्रणलाई थप कडाइ गरिएको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस