२०८३ असार २२ गते, सोमबार ११:५६

छाडा चौपायामाथि जरिवाना, फोहरमाथि मौनता! जनकपुरमा ‘दोषी’ गाई कि व्यवस्थापन?

जनकपुर

मधेस प्रदेशको राजधानी जनकपुरधाममा अहिले एउटा अनौठो दृश्य देख्न पाइन्छ। सडकभरि फोहरका थुप्रा, प्लास्टिकका झोला, दुर्गन्ध र अस्तव्यस्तता सामान्य दृश्य बनेका छन्। तर कारबाहीको डण्डा भने फोहर उत्पादन गर्ने वा व्यवस्थापन गर्न नसक्नेहरूमाथि होइन, त्यही फोहरमा पेट भर्ने बाध्यतामा रहेका छाडा गाई-गोरुतर्फ सोझिएको छ।

जनकपुरधाम उपमहानगरपालिकाले छाडा पशुचौपाया नियन्त्रण अभियानलाई तीव्र बनाउँदै सडकमा पशु छाड्ने व्यक्तिबाट पाँच हजार रुपैयाँसम्म जरिवाना असुल्न थालेको छ। हालसम्म पाँच सयभन्दा बढी छाडा पशु नियन्त्रणमा लिएर सात लाख रुपैयाँभन्दा बढी जरिवाना संकलन गरिएको उपमहानगरपालिकाले जनाएको छ। नियन्त्रणमा परेका पशुहरू वडा नम्बर १२ स्थित गौशालामा राखिएका छन्।

तर जनकपुरवासी भने व्यङ्ग्य गर्दै प्रश्न गर्न थालेका छन्, “सडकमा फोहर छाड्नेलाई कहिले जरिवाना गर्ने? कि जनकपुरमा अब फोहरको आधिकारिक व्यवस्थापक गाई नै हुन्?”

नगरका मुख्य सडकदेखि धार्मिक स्थल आसपाससम्म प्लास्टिक, कुहिने-नकुहिने फोहरको थुप्रो देखिनु दैनिकजस्तै भएको छ। ती फोहरमा खाद्यान्न खोज्दै प्लास्टिक निल्ने गाई-गोरु अन्ततः रोगी बन्ने र दुर्घटनाको कारणसमेत हुने गरेका छन्। त्यसैले धेरैको बुझाइमा समस्या छाडा पशुभन्दा पहिले फोहर व्यवस्थापनको हो।

यही विषयमा आयोजित छलफल कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले छाडा पशुका कारण मानवीय जोखिम बढेकाले नियन्त्रणमा कडाइ गरिएको बताए। उनले जनचेतना अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै यो समस्या स्थानीय तहले मात्र समाधान गर्न नसक्ने भएकाले संघ, प्रदेश, स्थानीय तह, निजी क्षेत्र र नागरिक समाजको साझा सहकार्य आवश्यक पर्ने बताए।

कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सञ्जयकुमार यादवले छाडा पशु व्यवस्थापनलाई स्थानीय सरकारको मात्र जिम्मेवारी नभई सार्वजनिक स्वास्थ्य, वातावरण संरक्षण र पशु कल्याणसँग जोडिएको साझा विषयका रूपमा लिनुपर्ने बताए। उनले प्लास्टिकजन्य फोहरको अव्यवस्थित व्यवस्थापनले पशुको स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको भन्दै प्लास्टिकको प्रयोग घटाउन र प्रभावकारी फोहर व्यवस्थापन गर्न आग्रह गरे।

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनुषाका प्रमुख डा. सञ्जीवकुमार ठाकुरले सडकमा फालिएका प्लास्टिकका झोला र फोहरसँगै खाद्यवस्तु खाँदा गाईवस्तुको पेटमा प्लास्टिक जम्मा हुने, त्यसले पाचन प्रणाली बिगार्ने, उत्पादन क्षमता घटाउने र कतिपय अवस्थामा पशुको मृत्यु नै हुने अवस्था रहेको बताए।

कार्यक्रमका सहभागीहरूले पनि छाडा पशु नियन्त्रणसँगै प्लास्टिकजन्य फोहर व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने, अन्यथा समस्या एकातिरबाट हटे पनि अर्को रूप लिएर दोहोरिने चेतावनी दिएका थिए।

जनकपुरमा अहिलेको अवस्था हेर्दा नागरिकहरू फेरि व्यङ्ग्य गर्न बाध्य छन्, “सहरभरि फोहर थुपार्नेहरू स्वतन्त्र छन्, फोहर खान पुगेका गाई भने पक्राउ परिरहेका छन्। राजधानीको सुन्दरताभन्दा जरिवानाको तथ्यांक चम्किलो देखिन थालेको छ।”

छाडा पशु नियन्त्रण आवश्यक नै हो। तर फोहर व्यवस्थापन प्रभावकारी नहुँदासम्म सडकमा गाई हटे पनि फोहरका डंगुर हट्ने छैनन्। आखिर समस्या गाईको हो, कि गाईलाई प्लास्टिक खान बाध्य बनाउने व्यवस्थापनको?

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस